प्रवासमा कोसेली बन्दै म्याग्दीकाे ‘सुकुटी’

  • २८ फाल्गुन २०७४, सोमबार
  • 2809 पटक पढिएको

म्याग्दी, २८ फागुन । सहर बजार र विदेशमा बसेकालाई गाउँघरबाट के कोसेली पठाउने ? म्याग्देलीलाई सोधियो भने सजिलो उत्तर आउँछ, सुकुटी । गाउँघर छाडेर अन्यत्र पुगे पनि यहाँको सुकुटीको स्वाद नबिर्सने धेरै छन् । त्यसैले विदेशमा रहेका आफन्तलाई गाउँघरको गतिलो कोसेली मासुको सुकुटी भएको छ ।छुट्टीमा आउँदा आफन्तलाई घडी, सुनको लकेट, मोबाइल र टेलिभिजन सेट उपहार बोकेर आउनेलाहुरेहरू फर्कंदा भने आफन्तको कोसेली ‘सुकुटी’ लिएर फर्कन्छन् ।

होटल रेस्टुरेन्टमा पुगेर खाने मात्र होइन विदेशमा समेत माग बढेसँगै काँचो सुकुटीको व्यापारमा पनि वृद्धि भएको छ । ‘सुकुटी भनेपछि हुरुक्कै हुनुहुन्छ । एउटै कम्पनीको साथी फर्कन लाग्नुभएकाले सुकुटी पार्सल पठाउन लागेकी हुँ,’ कतारमा कार्यरत श्रीमान्लाई कोसेली पठाउन बेनी कालीपुलस्थित बसपार्कमा भेटिएकी भगवती ७ की सीमा भण्डारीले भनिन्, ‘कोही फर्कने थाहा भयो कि सुकुटी पठाइदे भन्नुहुन्छ ।’
भण्डारी मात्र होइन विदेशमा आफन्त भएका अधिकांश घरबाट कोसेलीमा सुकुटी पठाउने चलन बढदो छ । स्थानीयस्तरमा बनाइने सुकुटीको माग विदेशमा रहेका नेपालीहरूमा बढी छ । राँगा–भैँसीको सुकुटी १५ सय र भेडाच्यांग्राको प्रतिकेजी ३५ सयमा बिक्री हुने गरेको छ । हल्का बोसोसहित मासुको सुकुटी बढी स्वादिलो मानिन्छ ।
बोसो र मासुको मात्रा मिलाएर सुकुटी बनाउन पाइने भएकाले पसलबाट ल्याएको मासुुभन्दा घरमै काटेर बनाएको सुकुटी राम्रो हुन्छ । तर, झन्झट कम र छिटो हुने भएकाले पसलबाट मासु ल्याएर नै सुकुटी बनाउने धेरै छन् । ‘घाममा सुकाएको भन्दा छायाँमा सुकाएको सुकुटी स्वादिष्ट हुन्छ । गर्मी गन्ध आउने भएकाले हिउँदमा सुकुटी बनाएर ओभानो कोठामा कपडामा मोडेर राख्दा लामो समयसम्म टिक्छ,’ व्यापारी महेन्द्र गुरुङले भने, ‘पहिले–पहिले खान मन लागेका बेला मासु अहिले जसरी पाइन्थेन । त्यसैले सुकुटी बनाउने चलन थियो,’ हिजोआज सबै होटल–रेस्टुरेन्टको मेनुमा सुकुटी छुटदैन ।’
सुकुटी संस्कृतिमा हिमालपारि मुस्ताङी थकालीहरू अगाडि छन् । मुस्ताङमा हरेक हिउँद घर–घरले ५/६ वटासम्म खसी, च्यांग्रा काटेर मासु सुकुटी बनाउने गर्छन् । हिमालपारि छुट्टै याकको सुकुटी पनि बिक्री हुन्छ । धनी र ठूला होटलले वर्षमा २०/२५ वटासम्म खसी काटेर सुकुटी बनाउँछन् ।
‘मुस्ताङको मुख्य कोसेली भनेकै स्याउ, सुकुटी र रक्सी (ब्रान्डी) हो,’ मुस्ताङका व्यवसायी सुन्दर थकालीले भने, ‘यहाँका थकालीको घरमा पाहुनाको स्वागतमा सगुनसँग सुकुटी राख्ने र सहरका आफन्तलाई कोसेली पनि सुकुटी पठाउने संस्कार नै हो ।’
खसी–भेडाको मासुको मात्र होइन रगत र बोसो मिसाएर आन्द्रामा भरेर पनि सुकाउने गरिन्छ । आन्द्रामा रगत र बोसो मिसाएर भरेर सुकाएको मासुलाई ‘घिन्टी’ भनिन्छ । आन्द्रामा छुट्टै फापरको पिठो र रगत मोलेर पनि भर्ने गरिन्छ । पिठो मिसाएर आन्द्रामा मिसाएको परिकारलाई ‘टुङ्ग’ भन्ने गरिन्छ ।
परम्परागत सुकुटी अगेनाको रापिलो आगोमा सुकाएर बनाउने गरिन्थ्यो । तर, माग बढेपछि भट्टी पसल र रेस्टुरेन्ट व्यवसायीले छिटोछरितो सुकुटी बनाउन पारिलो घाममा सुकाएर बनाउने गर्छन् । सुकुटीको व्यावसायिक उत्पादन हुनथालेपछि हिजोआज ठूला होटलहरूमा सोलार ड्रायरबाट समेत सुकुटी बनाउने गरिएको छ ।
साभार ः kantipurdaily.com