दोस्रो आत्महत्या

  • २७ फाल्गुन २०७४, आईतवार
  • 3113 पटक पढिएको

आफ्नो भन्दा प्यारो लाग्थ्यो
उसको त्यो हात , जसले
दिपावलिका रङ्गिन रातहरु सरी
मेरा प्रत्येक रातहरु रङ्ग्याउन
जीवनको मैन लिएर आउने गर्थे

आत्मियता, ती आकाशका ताराहरु सरि
नजिक रहन प्रेरित गर्दथ्यो
तर उ भन्थ्यो, उहुम
म देख्दिन ती ताराहरुलाई नजिक
किनकी मलाई थाहा छ आफन्तको दुरि
देख्दा नजिक तर बास्तब मै टा ।।।।।ढा हुन्छ

म सोध्थे अनि मरुरु
आत्तिदै आउथे उसका ती निर्दोष बाणिहरु
तँ आफन्त होइनस आफू होस आफू

यी वाणी सङ्गै खसेका मेरा मोतिका दाना
भुइँमा झर्न नपाउदै उसका हातमा पर्थे
जसको भार, आज अनगिन्ती साबित हुँदै छ
जसलाई थाम्न उसको हात होइन
पुरै शरीर लम्पसार परिरहेछ

उसका ती प्रत्येक गल्ती, जसले
मलाई हमेशा सफल बनायो
उसका दर्दनाक चोटहरु
जसले मलाई साबधान बनायो
र आज उसको त्यो मृत्यु, जसले
कैयौं मुढरुपी जीवन लाई
जीवित तुल्याईरहेको छ
र यहि अन्तिम सहायता सङ्गै
मेरो जीवन को कालखण्ड लाई
विभिन्न काला खण्डहरुमा बिभाजन गरिरहेको छ

उसको त्यो आहुतिरुपी जीवन लाई
श्रद्धाञ्जलिका छालहरुले पछार्दै
दुनियाँ को आखामा पट्टि बाँधि
शरिरका हरेक अवशेष हरुबाट म
मेरा सपनाका बिजहरुको अंकुरण गराउदै छु
त्यो क्षत बिक्षत लास माथी म
मेरो सन्सार को धरहरा खडा गर्दै छु
जहाँ बाट मैले होइन, मेराले
बिचित्रताको रमिता चिहाउने छन

अन्तत म उसको लागि कलंक हुनेछु
सायद मेरो भबिस्यबाणी जान्दो हो त्यो जुन
जसलाई देख्नुपर्ने डरले पुर्णिमाको रात मा पनि
मुहार मा कालो धब्बा पोतेर उदाउने गर्दछ

आशा छ, अब आत्मियताका ढोल बज्नेछन
चन्द्रमा पुर्ण चन्द्र का साथ उदाउने छ
औंशिका रातहरु दिपावली झै रङ्गिनेछन
ताराहरुको दुरि अझै नजिक हुनेछ, किनकी

तबसम्म मैले म भित्रको म
गुमाईसकेको हुनेछु,
आत्महत्या होइन आत्मा को हत्या
गरिसकेको हुनेछु, र हुनेछु
निहत्था एक्लो शरीरमा
जसलाई पनि म उसको
अभिभाराको रुपमा समर्पण गर्नेछु
आत्महत्या कहलिनेछ जुन, तर
म त्यस्लाई संज्ञा दिदैछु दोस्रो आत्महत्याको।।।।।।।

कुशल रिजाल
रघुगंगा गाउँपालिका २ भगवती