हार्ने राष्ट्रपति, जित्ने राष्ट्रपति र भित्ते राष्ट्रपति !

  • २६ फाल्गुन २०७४, शनिबार
  • 2321 पटक पढिएको

राष्ट्रपति निर्वाचनको यो पूर्वसन्ध्यामा चार जना रामहरूलाई सम्झँदै केही कुरा राख्ने अनुमति चाहन्छु- रामप्रीत पासवान, रामवरण यादव, रामराजाप्रसाद सिंह र रामचन्द्र पौडेल । अघिल्ला तीन राम गणतन्त्र नेपालको पहिलो राष्ट्रपति पदका क्रमशः एमाले, काँग्रेस र माओवादीका उम्मेदवार थिए । पछिल्ला रामचाहिँ हार्दा हार्दा झाडापखाला अति लागेको बिरामीझैं लखतरान भए पनि हारको कीर्तिमान कायम गर्न सफल बनाइएका नेपाली कांग्रेसका सीधासादा राजनीतिज्ञ हुन् । अघिल्ला तीन राम मधेसी समुदायका हुन्, यो समुदायलाई सीमान्तकृत भनेर भरपूर आरक्षणको व्यवस्था गरिएको छ । पछिल्ला राम पटक-पटक आकर्षक मन्त्रालय र एकपटक सभामुखसमेत भइसकेका सीमान्तकृत नहुँदा नहुँदै पनि पछिल्लो समय भने घनघोर सीमान्तीकरणमा परेका राजनीतिज्ञ हुन् भन्दा अतिशयोक्ति हुँदैन ।

शुरू गरौँ रामप्रीत पासवानबाट । एक त दलित, त्यसमाथि मधेसी जनताको बहुदलीय जनवाद (जबज) का एकसेएक धुरन्धर उत्तराधिकारीहरूको जगजगी भएको अवस्थामा पनि किन र कसरी उनी पार्टी हाईकमाण्डको रोजाइमा परे ? त्यो पनि गणतन्त्र नेपालको पहिलो राष्ट्रपति जस्तो ऐतिहासिक र गरिमामय पदमा ?

सरल तर खरो वाक्यमा उत्तर दिने हो भने- रामपृत पासवान त्यतिखेर यसकारण योग्य उम्मेदवार भए कि त्यो चुनाव एमालेले पक्का हार्दैछ । राष्ट्रपति पद आज एमालेले पक्का जित्दैछ्र त्यसकारण रामप्रीत पासवानहरू गुमनाम छन् । नजाने कता उनी रामनाम जपीराखेका होलान् ।ती जागृत भए पनि उम्मदेवार बन्न पाउन्नन् । किनकि यसपालि पार्टीकै पोल्टामा त्यो पद आउँदैछ । हार्ने पक्का हुँदो हो त पासवान झैं कोही मुसहर, दुसाध, चमार, खत्वेहरू खडा गरिन्थे अथवा महिला भन्दै माया ज्ञवाली वा संघर्षशील भन्दै अष्टलक्ष्मी शाक्यका नाममा पनि वाक्यहरु बन्थे ।

अब कुरो गरौँ रामवरण यादवको ।पार्टी र पात्र मात्र फरक, तर हुबहु उही प्रवृत्तिका प्रतिबिम्ब हुन् उनी पनि । मतलव उनको जीत सुनिश्चित नभएकै कारणले तिनले पनि उम्मेदवार हुने सौभाग्य पाए ।उम्मेद्वारी दिइसकेपछि राजनीतिक समीकरण उनको अनुकूल भई जितेर गणतन्त्र नेपालको पहिलो र ऐतिहासिक राष्ट्रपति हुने सौभाग्य पाए, त्यो अर्कै कुरा भो । ‘नेपाली कांग्रेसले मधेसीलाई सम्मान गर्‍यो’ भनेर खूब डंका पिटाईयो । सम्मान नै गर्ला, उसले त्यसमा शंका नगरौं। तर, त्यतिखेरको वास्तविकता भने अर्कै थियो- अर्का राम अर्थात् रामराजाप्रसाद सिंह माओवादीको तर्फबाट उम्मेद्वार बनेपछिका प्रतिकृयात्मक उम्मेद्वार थिए रामवरण यादव । उनी स्वाभाविक, सामान्य र सन्तुलित उम्मेद्वार थिएनन् ।

रामराजाप्रसाद सिंहको ठाउँमा रामराजा उप्रेती उठेका हुन्थे भने रामवरण यादवले होइन कुनै उप्रेती वा कोइराला वा प्रसाईंले नै टिकट पाउनेमा सन्देह थिएन र छैन ।
शायद त्यसैले होला उतिबेला सुनिएको थियो कि राष्ट्रपति निर्वाचित भएपछि रामवरण यादवले सबैभन्दा धेरै धन्यवाद माओवादी अध्यक्ष प्रचण्डलाई दिएका थिए रे । तथापि आफ्नो कार्यकालभरि उनले सबैभन्दा धेरै हैरानी र दुःख प्रचण्ड र उनको दललाई नै दिएका थिए, त्यो अर्कै पाटो भो ।माओवादीले मधेसी मूलका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई नउठाइदिएको भए कांग्रेसले रामवरण यादवलाई उठाउँदैनथ्यो । त्यतिबेला नेपाली कांग्रेसको उम्मेदवारको जीत सुनिश्चित हुँदो हो वा राष्ट्रपति पद सर्वसम्मत हुन्थ्यो भने गिरिजाप्रसाद कोइराला खुट्टो उचालेर बसेको सबैले देखेकै थिए । अरूले ढिम्किने चान्स नै थिएन । पराजयको भयले मात्र उनी पछि हटेका थिए भन्नेमा द्विविधा छैन ।

अर्कै पार्टीका रामराजाप्रसाद सिंहलाई उठाउनुमा पनि माओवादीको आˆनै दुःख थियो । ‘गणतन्त्र नेपालको प्रथम राष्ट्रपति प्रचण्डलाई बनाउँ’ भन्दै, भित्ता भित्तामा रमिता देखाउँदै भोट मागेर उसले पहिलो संविधानसभामा सबैभन्दा धेरै सीट जित्यो । उ सबैभन्दा ठूलो दल बनेपछि कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न तम्सियो पनि । तर, संसदीय दाउपेचका दिग्गज खेलाडीहरूले दिलोज्यान दिएर अवरोध खडा गरे । अब राष्ट्रपति पद आलंकारिक मात्रै हुने भएपछि प्रचण्डले दाबी छाडे । त्यसपछि मात्रै रामराजा रोजाइमा परे । अनि प्रचण्ड भित्ते राष्ट्रपतिको अलंकारबाट अलंकृत भए ।

सेरेमोनियल राष्ट्रपति हुन चाहेका भए प्रचण्ड त्यतिखेरै हुन सक्थे र भित्ते राष्ट्रपतिको पगरी पाउँदैनथे । त्यसपछि पनि पटक-पटक प्रचण्डलाई सेरेमोनियल राष्ट्रपति बन्ने अवसर आएकै हो, तर उनी बनेनन् र भित्ते राष्ट्रपतिको उपाधि जोगाइराखे । आजसम्म पनि कार्यकारी राष्ट्रपति हुने उनको चाहना जीवितै छ्र र जीवितै छ भित्ते राष्ट्रपतिको पगरी पनि ।

कतिपय राजनीतिज्ञहरूले त एमालेसँगको उनी र उनको पार्टीको विलयलाई उनको प्रत्यक्ष कार्यकारी राष्ट्रपति बन्ने सपनासँग जोडेर हेर्ने पनि गरेका छन् । के कति सत्य हो, त्यो भविष्यले नै देखाउला ।

रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो प्रधानमन्त्री पदका उम्मेदवार थिए्र । वीपी कोइरालाका एक से एक ‘सच्चा’ अनुयायीहरूको खाँडो जागेको अवस्थामा पनि यसकारण ऊनी उम्मेदवार थिए कि कांग्रेसले पक्का हार्दैछ । पक्का जित्ने अवस्था हुँदो हो त दिग्विजयी देउवा दाइको दबदबा छँदै थियो ।

हुन त देउवा दाइ पनि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा प्रचण्डसँग लडेर नहारेका भने होइनन् । अर्थात् हारिने जान्दा जान्दै नै लडेका थिए । तर, एउटा घटनाका आधारमा सामान्यीकरण गर्न मिल्दैन । रामचन्द्र पौडेलले सत्र पल्ट हारेर सर्बत्र नाम कमाउँदै संसदीय व्यवस्थालाई विख्यात बनाएपछि पनि दुईपटक प्रधानमन्त्री पदको चुनाव भयो, दुवै पटक कांग्रेसले जित्ने सुनिश्चित थियो, जित्यो पनि । त्यसैले दुवै पटक रामचन्ऽ परेनन् । एक पटक सुशीलले सुताए भने अर्कोपटक देउवाले बिताए ।

बिचरा रामचन्द्र ! नेपाली काँग्रेसभित्रको आन्तरिक लोकतन्त्रको अभ्यास र संसदीय व्यवस्थाको अभ्यास दुबैमा ऐतिहासिक उदाहरण बन्न पुगे । राजनीति कति क्रुर हुन्छ भन्ने कुराको पनि ज्वलन्त उदाहरण बने आम मानिस पनि शायद धेरैपल्ट झुक्किए ‘रामचन्ऽ कांग्रेसी नै त हुन् ?’ भनेर त्यसैले राष्ट्रपति पद आज कांग्रेसले पाउने निश्चित हुँदो हो त आरजू वा सुजू दिदीमध्ये कोही उम्मेदवार हुने निश्चित थियो, कुमारीलक्ष्मीको होइन, महालक्ष्मीको सम्भावना प्रचुर हुने थियो । अस्तिको संसदीय चुनावमा आरजू दिदीलाई भावी प्रधानमन्त्री भन्दै भोट त्यसै मागिएको थिएन।

जित्ने निश्चित हुँदा सकेसम्म, मिलेसम्म आफैं तयार हुने प्रवृत्ति सबै दलमा उत्तिकै छ्र अर्कोलाई दिनैपरे फाइल, प्रोफाइल, हाइट, वेट, गुट, उपगुट, कुल, खानदान, वंशज, शीर्षस्थसँगको निकटता आदि सबै हेरिन्छ । हार्ने निश्चित हुँदाचाहिँ आदिवासी, जनजाती, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक इत्यादि खोजिन्छ । यो क्राइटेरियाबाट पनि नपाए त्यो पदका अधीक आकांक्षी उम्मेदवार खोजिन्छ अर्थात् उसको पदीय आकांक्षालाई कमजोरी बनाएर प्रयोग गरिन्छ्र यसैगरी प्रयोग भए रामचन्द्र पौडेल ।

हुन त महिलालाई एकपटक होइन दुईपटक चान्स दिने दल हो एमाले भनिएला । भनिएकै पनि छ । तर, यो भनाइ रामवरण यादवलाई राष्ट्रपति बनाएर मधेसीलाई सम्मान गरेको भन्ने काँग्रेसको भनाइ भन्दा गुणात्मक रूपमा कत्ति पनि फरक छैन ।

अमेरिकामा पहिलो महिला राष्ट्रपति हुने संभावना बढदै जाँदा (भलै यो सम्भावना सम्भावना मात्रै रहृयो) ‘हामीले महिला राष्ट्रपति बनाएरै देखाइसक्यौं, उनीहरू भने भर्खर त्यसको तयारीमा छन्’ भन्दै आफूलाई अमेरिका भन्दा अब्बल देखाएर आत्मरति लिने आत्माहरू पनि देखिए त्योबेला ।हाम्रो राष्ट्रपतिको पद अमेरिकाको जस्तै कार्यकारी भइदिएको भए त्यसरी आत्मरति लिने आत्माहरूलाई पक्कै थाहा हुन्थ्यो राष्ट्रपति महिला हुन्थिन् कि पुरूष ।

माओवादीले रामराजाप्रसाद सिंहलाई अघि सारेर ‘मधेसी र गणतन्त्रवादीको सम्मान’ भने झैं नै हो यो पनि । राष्ट्रपति पद कार्यकारी भएको भए आफ्नो दल पनि नभएर अर्कै दलका रामराजालाई उम्मेद्वार बनाउँथ्यो त माओवादीले ? असम्भव !

sorce: onlinekhaber