शान्ति कोषलाई जापानबाट तिन लाख पचास हजार जुट्यो

  • १८ फाल्गुन २०७४, शुक्रबार
  • 1945 पटक पढिएको

 

म्याग्दी, १८ फागुन । परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई जापानमा तिन लाख पचास हजार रुपैया सहयोग जुटेको छ ।म्याग्दी प्रवासी नेपाली संघ जापानको नागोया क्षेत्रिय समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले सो रकम सहयोगको घोषणा गरेका हुन् । गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि उक्त सहयोग जुटेको मोना जापानका सल्लाहकार गणेश श्रेष्ठले जानकारी दिए ।

कोषका अध्यक्ष राजेश शाक्यको आतिथ्यतामा भएको कार्यक्रममा तिन लाख पचास हजार रुपैया सहयोग गर्ने मोना नागोया क्षेत्रीय समितिलाई संस्थाको संस्थागत संरक्षक प्रदान गरिने भएको छ । मोना जापानका बरिष्ठ उपाध्यक्ष तथा एनआरएन जापान नागोया क्षेत्रीय संयोजक दिपक कार्कीले एक लाख ११ हजार १११ रुपैया सहयोग गरेका छन् ।

मोना नायोगाका अध्यक्ष गणेशबहादुर कार्कीको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष अमृत पौडेलको स्वागत र सचिव टक चोचाङ्गीको सञ्चालनमा सम्पन्न कार्यक्रममा एनआरएन नायोगाका उपाध्यक्ष दिलीप रानामगर, सचिव श्याम सितल लगायतको समेत उपस्थिती रहेको थियो । अध्यक्ष शाक्यले शनिबार टोकीयोमा रहेका म्याग्देलीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।हाईपो पलास्टीक एनिमिया रोगबाट थलीएकी बेनपा ४ की ओमकुमारी पुन –शान्ति)को स्मृतीमा स्थापित कोषले जटिल रोगबाट बिरामी भएका म्याग्दीका गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले एक करोड पचास लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरेको छ ।

वि.स २०७२ मा स्थापना भएको कोषले हालसम्म ५४ जनालाई असी लाख भन्दा बढी उपचारका लागि सहयोग गरेको छ भने अक्षयकोषमा साठी लाख रुपैया भन्दा बढी सहयोगको घोषणा भएको छ । अक्षयकोष स्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले यसअघि कतार र बहराईनमा समेत कार्यक्रम गरिएको थियो । मृगौला, मुटु, क्यान्सर, रक्तक्यान्सर लगायत जटिल रोगबाट प्रभावीत भएका बिरामीलाई कोषले उपचारका लागि सहयोग गर्दै आएको छ ।