चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम

  • १४ फाल्गुन २०७४, सोमबार
  • 2429 पटक पढिएको

म्याग्दी, १४ फागुन । म्याग्दीमा बुधबारदेखि सुरु हुन लागेको चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बेनी स्थित जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाटमा १६ गते देखि १९ गतेसम्म मालीका गाउँपालीकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा सञ्चालन हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।

जिल्लाको विद्यालयको प्रतिनिधित्व हुने राष्ट्रपति कपको उद्घाट्न महिला, बालबालीका तथा समाज कल्याणमन्त्री थममाया थापाले गर्ने पक्का भएको छ । प्रतियोगिताको प्रचारप्रसार, आर्थिक स्रोत जुटाउने, खेलमैदान, आवास व्यवस्थापन र समन्वयको तयारी अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिए । भलिबल सञ्चालन हुने दरवाङ, एथलेटिक्सका खेल हुने सहश्रधारा, कवड्डीको सबै र छात्रा भलिबलको फाईनल हुने बाबियाचौरको खेलमैदानमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ । तिन वटै ठाउँमा प्रतियोगितामा सहभागी हुन आउने खेलाडीको खाने बस्ने सुबिधाका लागि आवास स्थानीय होटलहरुमा आवास व्यवस्थापन गरिएको छ । हालसम्म २२ विद्यालयले नामदर्ता गराएको छ । भने प्रतियोगितमा तिस देखि ४० वटा विद्यालयलेसहभागिता जनाउने अपेक्षा गरिएको छ ।

राज्य पुनसंरचनाको कार्यान्वयन, ग्रामिण क्षेत्रका विद्यालयहरुको अपेक्षा अनुसार स्थानीय तहहरुसंग समन्वय गरेर पहिलो पटक सदरमुकाम बाहिर आयोजना गरिएको राष्ट्रपति रनि«ङ शिल्डले ग्रामिण क्षेत्रका बासिन्दा,खेलाडी, विद्यार्थी उत्साहीत भएका छन् ।  कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने प्रतियोगिता अन्तरगत कवड्डी, भलिबल, एथ्लेटिक्स, कँराते, उसु र तेक्वान्दो बिधामा प्रतिस्पर्धा हुने जनाएको छ ।

प्रतियोगितामा प्रथम, दितृय, तितृय हुने विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश ९५ हजार, ५५ हजार र ३५ हजार तथा सबै खेल बिधामा उत्कृष्ट खेलाडीलाई एक हजार पाँच सयका दरले पुरस्कृत गरिने अध्यक्ष विश्वकर्माले बताए । प्रतियोगिताको निश्चित बिधामा भाग लिने विद्यालयलाई दश हजारका दरले सुबिधा उपलब्ध गराइने छ ।प्रतियोगिता सञ्चालनका लागि १६ लाख ९५ हजार रुपैया बराबरको बजेट आवश्यक पर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिए । स्थानीय तह र सहयोगदाताहरुबाट अपेक्षा गरेअनुसार प्रतिवद्धतामा सहयोग प्राप्त भएको छ ।

कार्यक्रम सञ्चालन हुने ठाउँका स्थानीय तह, विद्यालय, युवा कल्व, आमा समूह र खेलकुदका विषयगत संघसंग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गरिने  भएको छ ।