बिम गाविसको सार्वजनिक सुनुवाई सम्पन्न

  • २६ फाल्गुन २०७३, बिहीबार
  • धिरन खत्री
  • 3319 पटक पढिएको

म्याग्दी, २६  फागुन । म्याग्दीको बिम गाविसमा विहिवार सार्वजनिक सेवाप्रवाह  तथा गाविसको विकास निर्माण योजना सम्वन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिम गाविस कार्यालयको आयोजनामा भएको कार्यक्रममा चालु आर्थिक बर्ष २०७३÷ ०७४ मा कार्यालयबाट सञ्चालित विकास निर्माण योजनाको बारेमा अन्तक्रिया तथा स्थानीय निकायको सार्वजनिक सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई गरिएको थियो ।

DSC_0017

कार्यक्रममा गाविस सचिब मिलन थापाले गाविसको सेवा प्रवाह तथा विकास निर्माण योजनाहरुको प्रगतिबारे जानकारी गराउनुभएको थियो । उहाँले गाविसका आम नागरिकलाई सास्ती नहुने गरि स्थानीय निकायको सेवा प्रवाह गर्न आफु सचेत रहेको बताउँदै चालु आर्थिक बर्षका विकास निर्माण योजना तथा विनियोजित बजेटको कार्यान्वयनको लागि सबैपक्षले रचनात्मक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

DSC_0035

कार्यक्रममा सहभागि स्थानियबासिले गाविसको कार्यालयमा बसेर गाविस सचिबले सेवाप्रवाह गर्नुपर्ने, बिपन्न र दलित समुदायका बालबालिकाहरुलाई विद्यालयमा लिइने परिक्षा शुल्क लगायतमा छुट दिनुपर्ने, गाउँमा प्रहरीको गस्ती बढाउनुपर्ने, विभिन्न दुव्यसनी विरुद्ध अभियान चलाउनुपर्ने, अपांगता भएका व्यक्तिलाई परिचय पत्र दिनुपर्ने, बालबालिकाको जन्मदर्ता समयमै गर्नुपर्ने लगायतको सुझाब दिएका थिए ।

DSC_0064

कार्यक्रममा गाविस सचिब थापा, किसानी माविका प्रअ जंग बहादुर गर्वुजा, इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक दयाराम पौडेल, पशु सेवा प्राविधिक प्रेमकुमारी गुरुङ, छक प्रसाद पाईजा लगायतले  सहभागीले गरेका प्रश्नको जवाफ दिनुभएको थियो ।

DSC_0019
कार्यक्रममा डिसीआरडिसीका टंक ढकाल, सुआहारा फिल्ड सुपरभाईजर अच्युत पौडेल, किसानी माविका शिक्षक देविप्रसाद शर्मा, बेगप्रसाद गर्वुजा, माविका प्राविका प्रअ खिम जुग्जाली, लगायतले मन्तव्य राख्नुभएको थियो ।

DSC_0057

गाविस सचिव थापाको अध्यक्षतामा भएको कार्यक्रम जेष्ठ नागरिक पलबिर जुग्जालीको प्रमुख आतिथ्यता, तुलसी घर्ति मगरको स्वागत र सुरमन गर्वुजाको सञ्चालनमा सम्पन्न भएको थियो  ।

DSC_0035
स्थानियबासी, राजनीतिक दल, संघसस्थाको लगायतको सहभागि रहेका कार्यक्रममा संगम म्याग्दी, स्थानिय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रमका जबाफदेहिता अधिकृत हिरा शर्माले  सार्वजनकि सुनुवाई सम्वन्धि आचार सहिताबारे प्रकाश पार्नुभएको थियो भने सहजीकरण पत्रकार कमल खत्रीले गर्नुभएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l