लायन्स क्लबको बैठक बेनीमाः ४ नम्बर प्रदेशलाई समृद्ध बनाउने अभियानको थालनी भएको छः मुख्यमन्त्री गुरुङ (फोटो फिचर)

  • १२ फाल्गुन २०७४, शनिबार
  • कमल खत्री
  • 2007 पटक पढिएको

म्याग्दी, १२ फागुन । प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशभित्र रहेका स्रोत साधनको उपयोग मार्फत समृद्धिको खोजी सुरु भएको बताउनुभएको छ । बेनीमा भएको लायन्स क्लव अन्तराष्ट्रिय ३२५ ‘वि वान’ नेपालको तेस्रो क्याविनेट बैठककोे शनिवार उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले ४ नम्बर प्रदेशलाई अन्य प्रदेशहरुको तुलनामा सुन्दर, शान्त, समृद्ध र सभ्य प्रदेशको रुपमा विकास गरिने बताउनुभयो ।

उहाँले पर्यटन, जलविद्यूत, कृषि, खनिज उत्खनन, औधोगिक विकास लगायतको क्षेत्रमा प्रदेश नम्बर ४ ले प्रशस्त सम्भावना बोकेको उल्लेख गर्दै लगानीमैत्री वातावरण सिर्जना गर्न सबैक्षेत्रबाट रचनात्मक भुमिका आबश्यक रहेकोमा जोड दिनुभयो । ‘‘ हामीले समृद्धिको कुरा धेरै गरेका छौँ, त्यसको लागि लगानीलाई प्राथमिकता दिन जरुरी छ, लगानीको सुरक्षाको ग्यारेन्टी नभएसम्म यस्ता सम्भावनाहरु उजागर हुन सक्दैनन्, त्यसैले प्रदेश सरकारले यसतर्फ ध्यान दिएको छ,’’–मुख्यमन्त्री गुरुङले भन्नुभयो ।

शुन्य विन्दुबाट समृद्धिको अभियान थालनी गरिएको बताउँदै उहाँले लगानीको क्षेत्रमा डनबाद र विकास निर्माणमा प्रकृयागत झण्झटलाई अन्त्य नगरेसम्म समृद्धिको अभियानले सार्थकता नपाउने धारणा राख्नुभयो । निति कार्यान्वयन पक्ष फितलो रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले प्रोसेज ओरिन्टेड संस्कृतिलाई रिजल्ट ओरिन्टेड बनाएर विकास निर्माणलाई द्रुत गति दिनुपर्ने बताउनुभयो ।

अहिलेको परिवर्तनलाई उल्ट्याउन चाहने शक्तिहरु अझैपनि सलबलाईराखेको बताउँदै उहाँले जनतालाई घरदैलोमै सरकारको अनुभुति गराउने गरि जनप्रतिनिधिले आफ्नो भुमिका निभाउन जरुरी रहेको बताउनुभयो । राजनैतिक परिवर्तन सकिदैमा र मौलिक अधिकार लेखिदैमा समृद्धि सम्भव नरहेको उल्लेख गर्दै उहाँले लगानीमार्फत विकास र समृद्धि ल्याउन नसकेसम्म जनताको मन जित्न नसकिने बताउनुभयो ।

विश्वप्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थलहरु रहेको ४ नम्बर प्रदेशले दुई छिमेकी मुलुक भारत र चिनलाई समेत जोडिएकाले दुबै देशबाट पर्यटक भित्र्याएर यहाँको पर्यटन विकास मार्फत आर्थिक विकास गराउने नितिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो। ‘‘ यहाँका हरेक गाउँ लिभिङ म्युजिएमको रुपमा रहेका छन्, ती हरेक गाउँमा होमस्टे सञ्चालन गर्ने, पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पूर्वाधार निर्माण गर्नतर्फ हामीले योजना बनाएका छौँ,’’– मुख्यमन्त्री गुरुङले भन्नुभयो ।

?

कालिगण्डकी र बुढीगण्डकी करिडोरलाई जोड्ने गरि योजनाहरु समयमै सम्पन्न गराउनतर्फ प्रदेश सरकारको ध्यान गएको बताउँदै उहाँले केरुङ–काठमाण्डौ– पोखरा –लुम्बीनि रेलमार्ग निर्माण योजनालाई कार्यान्वयनमा ल्याउनका लागि संघिय सरकारलाई आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले मानविय सेवाको क्षेत्रमा लायन्सले गरेका कार्यहरु प्रसंसनिय रहेको भन्दै आगामी दिनमा समेत निरन्तरता दिन आग्रह गर्नुभयो ।

लायन्स क्लव अन्तराष्ट्रिय ३२५ ‘बि वान’ नेपालमा आबद्ध करिब १ हजार ५०० बढी सहभागी तेस्रो क्याविनेट बैटकमा जनप्रतिनिधि र लायन्स क्लबका उच्च ओहोदाका व्यक्तिहरुले सम्बोधन गरेका थिए । कार्यक्रम सुरु हुनुपूर्व बेनीमा साँस्कृतिक  झाँकी सहितको ¥याली निकालिएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l