खेर गएको निगालोको सदुपयोगः सामुदायिक बनले सञ्चालन गर्‍यो‘डोको उद्योग’ (फोटो फिचर)

  • ११ फाल्गुन २०७४, शुक्रबार
  • कमल खत्री
  • 4074 पटक पढिएको

म्याग्दी, ११ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मा रहेको कलेजाबाङ्ग वाखेत सामुदायिक बनले निगालो उद्यम सञ्चालन गरेको छ । वनमा खेर गएको निगालो सदुपयोग गरि स्थानीय स्तरमा रोजागारि सृजना र वनको आम्दानी बढाउनको लागि निगालोको चोयाबाट डोको बुनाई सुरु गरिएको हो । सामुदायिक बनभित्रै ‘गोर्जुरे’ मा गत माघ २८ गतेदेखि निगालोको चोयाबाट डोको बुनाई थालिएको कलेजाबाङ्ग वाखेत सामुदायिक बनका अध्यक्ष जित बहादुर खत्रीले बताउनुभयो ।

सामुदायिक बनले सञ्चालन गरेको ‘निगालो उद्यम’मा अहिले ८ देखि १० जनाले दैनिक रुपमा डोको बुन्दै आएका छन् । बनमा प्रयाप्त मात्रामा पाईने निगालो खेर गैरहेको अवस्थामा सामुदायिक बनले उद्यमकै रुपमा निकालोको चोयाँबाट घरायसी सामाग्रि निर्माण गर्न थालेको अध्यक्ष खत्रीले बताउनुभयो । ‘ निगालाको चोयाँबाट धेरै सामाग्री उत्पादन हुन्छ, हामीले परिक्षणको रुपमा अहिले डोको मात्रै उत्पादन गरिरहेका छौँ, उत्पादीत डोकाहरुको बजारीकरण पश्चात थप सामाग्री बनाउने योजना छ,’–अध्यक्ष खत्रीले भन्नुभयो ।

उपयोगको अभामा अहिलेसम्म गाउँ घरमा आगो बाल्न प्रयोग हुँदै आएको निगालो अब उद्यम मार्फत आयआर्जनको आध्ययम बन्ने भएपछि स्थानीयबासी समेत उत्साहित बनेका छन् । उक्त निगालो उद्यममा एक सातामा ८० बढी डोका उत्पादन भैसकेको छ । गाउँघरमा घाँस, दाउरा, गोबर मोल लगायतका सामान तथा सामाग्री बोक्न डोको उपयोगी मानिन्छ । अहिले रु ३०० देखि ६०० मुल्य सम्मका डोको उत्पादन भैरहेको समितिका सह–सचिब एवम डोको बुनाईमा कार्यरत पूर्ण परियारले बताउनुभयो ।

‘पहिले घरायसी प्रयोजनको लागि मात्रै डोको बुन्ने गथ्र्यौ, अहिले वन समितिले नै उद्यम सञ्चालन गरेपछि व्यवसायिक रुपमै निगालोको सामान बनाउन थालेका छौँ, उत्पादीत डोकोहरुको सहज बजारीकरण भएमा यस उद्यमलाई दिर्घकालिन रुपमै सञ्चालन गर्न सकिन्छ,’–परियारले भन्नुभयो ।

तत्कालको लागि डोको मात्रै उत्पादन गरेपनि निकट भविश्यमा निगोलोको चोयाँबाट मान्द्रो, भकारी, थुन्से, सपिङ्ग व्याग, कुर्चि, ¥याक लगायतका सामाग्री उत्पादन गर्ने योजना रहेको अध्यक्ष खत्रीको भनाई छ । सामुदायिक बन समितिको घुम्ती कोषमा रहेको रु १ लाख ३० हजार रकमलाई परिचालन गरि डोको बुन्नका लागि १० जनालाई मासिक तलब दिएर खटाईएको छ । डोको बुनाईमा आबद्ध भएका उद्यमीहरुलाई डोको बुन्ने शिपको आधारमा प्रतिव्यक्ति रु १६ हजारदेखि १८ हजार सम्म तलब दिइएको छ ।

बनभित्रै अस्थायी रुपमा बसोबास गर्ने पूर्वाधार सहित खाना र बस्नको सुविधा दिएर परिचालन भएका व्यक्तिहरुले विहानदेखि बेलुकी सम्म धमाधम डोको बुनीरहेका छन् । वन समुहको स्वलगानीबाट खेर गएको स्रोत र साधनको उपयोग मार्फत रोजगारि सिर्जना , वन र समुदायका व्यक्तिहरुको आम्दानी बृद्धिमा सघाउ पु¥याउन सो उद्यमले सहयोग पुग्ने निगालो उद्यमका संयोजक प्रेम बहादुर मल्ल बताउँछन् ।
सिंगो बनमा उत्पादन हुने निगालो बार्षिक रु ६ देखि ८ हजारमा मात्रै विक्रि हुने गरेको अवस्थामा समुहले नै उद्यम सञ्चालन गरेपछि विगतमा खेर जाने गरेको निगालो उपयोगमा आएको मल्लको भनाई छ ।

‘ यो सिजनमा हामीले रु ४ लाख बढीको डोका उत्पादन गर्ने लक्ष्य राखेका छौँ, वन समुहलाई सोचे अनुरुप आम्दानी नहोला, तर खेर गएको निगालोको सदुपयोग र स्थानीय स्तरमा डोको बुनाईको शिप भएकाले रोजगारिको अवसर पाएका छन,’– संयोजक मल्लले भन्नुभयो । सो उद्यममा डोका लगायतका चोयाँका सामान बुन्न सिक्न चाहनेहरुको लागि समेत निशुल्क प्रशिक्षण दिने गरिएको छ । निगालो उद्यमले रोजगारिको वातावरण सृजना गरेको भन्दै उद्यममा डोको बुनाईमा आबद्ध भएका विष्णु मिजारले यस्तो उद्यमको निरन्तरताको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो।

कुल ३६५ घरधुरी आबद्ध रहेको यस सामुदायिक बनले जंगलमा बर्षौदेखि खेर गैरहेको निगालोको सदुपयोगका लागि डोको बुनाई उद्यम सञ्चालन गरेपनि उत्पादीत डोकोहरुको बजारीकरण सुनिश्चित नहुँदा समिति उत्साहित रुपमा यस उद्यमतर्फ लाग्न सकेको छैन् । ठुलो मात्रामा डोकाहरु उत्पादन हुने भएकाले एकैसाथ बजारीकरण गर्न कठिन हुन सक्ने भएकाले सो उद्यमबाट उत्पादीत डोकाहरुको बजारीकरणमा सहयोग गर्न समितिले सरोकारवालाहरुलाई आग्रह समेत गरेको समितिकी कोषाध्यक्ष सकुन्तला भण्डारीले बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l