जापानमा श्रेष्ठद्वारा ओमकुमारी शान्ति कोषलाई ५२ हजार सहयोग

  • १० फाल्गुन २०७४, बिहीबार
  • 1701 पटक पढिएको

सन्दीप खत्री
म्याग्दी १० फागुन । जापानमा व्यवसाय गर्दै आएको म्याग्दीका गणेश श्रेष्ठले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई नेपाली रु ५२ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । बेनी नगरपालिका ९ काउलेगौडाका श्रेष्ठले ओमकुमारी शान्ति कोषको डेढ करोड अक्षय कोष स्थापना गर्ने अभियानमा टेवा पु¥याउने उद्देश्यले उक्त रकम सहयोग गरेको बताए । संस्थाका अध्यक्ष राजेश शाक्यलाई श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका थिए । मोना जापनका सल्लाहकार समेत रहेका श्रेष्ठले जापानमा रहेका अन्य नेपालीहरुलाई समेत परोपकारी अभियानमा सहयोग गर्नका लागि समेत अपिल गरेका छन् । भ्रमण तथा संस्थाको अक्षय कोष बृद्धिका गर्न भेटघाटका लागि जापानमा पुगेका संस्थाका अध्यक्ष शाक्यले सबैबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए । उनले भने–“जापानमा रहनु भएका म्याग्देलीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सकेसम्म सबैसँग भेटघाटको वातावरण तयार गर्दैछौं ।” संस्थाको विधान अनुसार २ लाख आर्थिक सहयोग गर्ने व्यक्तिगत संरक्षक, ३ लाख आर्थिक सहयोग गर्ने संस्थागत संरक्षक र ५,५५५।– भन्दा बढी आर्थिक सहयोग गर्ने व्यक्तिलाई संस्थाको आजिवन सदस्यता प्रदान गर्ने प्रावधान रहेको छ ।


आर्थिक अवस्था भएकै कारणले कसैले पनि अकालमै मृत्यु वरण गर्न नपरोस् भन्ने उद्देश्यले स्थापित संस्थाले हालसम्म दर्जनौं विरामीको उपचार गरिसकेको छ । पटक पटक अभियान सञ्चालन आर्थिक संकलन गरी उपचार गर्नु भन्दा डेढ करोड अक्षय कोष स्थापना गरेर त्यसैको व्याजबाट विरामीको उपचार गरिने छ ।