गुर्जा–रुघाचौर पदमार्ग निर्माण सुरु

  • ९ फाल्गुन २०७४, बुधबार
  • 3267 पटक पढिएको

म्याग्दी, ९ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाबाट रुघाचौर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । गुर्जा हुँदै ढोरपाटन शिकार आरक्ष जानको लागि प्रयोगमा आउने गुर्जाबाट रुघाचौरसम्मको पुरानो डोरेटो बाटोलाई स्तरोन्नती गरि पदमार्ग निर्माण सुरु गरिएको हो । पदमार्ग निर्माणको लागि धौलागिरि गाउँपालिका कार्यालयले रु १५ लाख बजेट विनियोजन गरेको छ ।

करिब रु १६ लाख बढी लागन अनुमान गरिएको सो पदमार्ग निर्माणमा रु १ लाख ६० हजार बराबरको जनश्रमदान रहने वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । उहाँका अनुसार, निर्माण सुरु गरिएको एक साताको अबधिमा करिब २ किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने अझै करिब १० किलोमिटर पदमार्ग निर्माण गर्न बाँकी रहेको छ ।

पुरानो डोरेटो बाटोलाई फराकिलो बनाउने र अप्ठ्यारो तथा उकालो ठाउँमा सिढी चिनेर पदमार्ग निर्माण भैरहेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । पदमार्ग निर्माण कार्यमा दैनिक ५० देखि ६० जना नियमित रुपमा परिचालन भएका छन् । गुर्जाको दोप्टाबाट निर्माण सुरु गरिएको सो पदमार्ग रुघाचौर – गुर्जाघाट हुँदै ढोरपाटन जोडिएको छ ।

रुघाचौरबाट अन्नपूर्ण र धौलागिरि रेन्जका दर्जनौ हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएकाले समेत पदमार्ग निर्माण भएपछि पर्यटन विकासमा सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।