म्याग्दीमा अन्तराष्ट्रिय महिला दिवस मनाईयो

  • २५ फाल्गुन २०७३, बुधबार
  • 1871 पटक पढिएको

dc

म्याग्दी, २५ फागुन । बुधबार म्याग्दीमा १०७औं संस्करणको अन्तर्रा्ष्ट्रिय महिला दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘महिला सम्मानको आधार, सिपयुक्त हात र रोजगार’ ‘बदलिँदो परिवेशमा कामकाजी महिला ः २०३० सम्म बराबरी पाईला’ भन्ने मूल नारासहित दिवस मनाइएको हो । दिवसको अवसरमा बेनीमा प्रभातफेरी र्‍याली सम्पन्न गरिएको छ ।

महिला तथा बालबालिका कार्यालय म्याग्दीको आयोजनामा महिलासँग सम्बन्धित विभिन्न मागहरु लेखिएका प्लेकार्ड बोकेर महिला अधिकारका नारा लगाउँदै सदरमुकाम बेनीबजारको परिक्रमा गरेको र्‍याली शहिद स्तम्भचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले समाजमा महिलाहरुको सहभागितालाई क्रियाशिलता बनाउन आर्थिक अबस्था बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले महिला हिंसा न्युनीकरण गर्नका लागि सबै क्षेत्रको रचनात्मक सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल महिला संघका जिल्ला अध्यक्ष बिमला गौचन, अनेमसंघका सदस्य भूनु तिलिजा, अनेमसंघ क्रान्तिकारीका अनिता ढुङ्गाना, अन्तरपार्टी महिला सञ्जालका उपाध्यक्ष सन्जु बरुवाल, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष रेखाकौशल रेग्मी र महिलाअधिकार मञ्चका अध्यक्ष दिवाकुमारी पुनले महिला हिंसा न्युनीकरण गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

महिला विकास अधिकृत निर्मला शर्माको अध्यक्षता र सहायक महिला विकास निरीक्षक लक्ष्मी केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, महिला सहकारी, आमा समूह, लगायतको सहभागीता रहेको थियो ।