ओलीको नेतृत्वमा सरकार बनाउने वाम गठबन्धनको निर्णय

  • ३ फाल्गुन २०७४, बिहीबार
  • 1635 पटक पढिएको

काठमाडौं, ३ फागुन । वाम गठबन्धनले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै बिहीबार राष्ट्रपतिसमक्ष नाम पठाउने तय गरेको छ । निर्वाचन आयोगले चुनावी परिणाम बुझाएलगत्तै बुधबार साँझ बसेको गठबन्धनको बैठकले बिहीबारबाटै सरकार गठन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

‘बिहीबार दिउँसोसम्म हामी नाम पठाइसक्छौं,’ एमाले महासचिव ईश्वर पोखरेलले भने । संसद्मा बहुमत प्राप्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । एउटै दलको बहुमत नपुगेकाले वाम गठबन्धनका दुई दल एमाले र माओवादीले संविधानको प्रावधानअनुसार आफूहरूको बहुमत रहेको उल्लेख गर्दै प्रधानमन्त्रीमा नियुक्तिको आग्रहसहित ओलीको नाम पठाउने छन् ।

बिहीबारबाटै सरकार गठन प्रक्रिया अघि बढाउन एमाले स्थायी समितिको आकस्मिक बैठक पनि बुधबारै बसेको थियो । बैठकले ओलीलाई दलका तर्फबाट प्रधानमन्त्रीका रूपमा अघि सार्ने औपचारिक निर्णय गरेको थियो । ‘तत्काल सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने देखिएकाले बिहीबारै त्यो काम सुरु हुन्छ,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने ।

चुनाव सकिएको दुई महिनासम्म पनि प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक नहुँदा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको थिएन । राष्ट्रिय सभाको निर्वाचनपछि मात्र प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्नुपर्ने अवस्थाका कारण सरकार गठन प्रक्रियाअवरुद्ध थियो ।

बिहीबार ओलीको नाम पेस भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्नेछिन् । राष्ट्रपतिबाट नियुक्त भएका प्रधानमन्त्रीले एक महिनाभित्र संसद्मा

विश्वासको मत लिनुपर्ने प्रावधान छ । वाम गठबन्धनसँग संसद्मा झन्डै दुई तिहाइ सिट छ । त्यसैले ओलीको नाम स्वत: अनुमोदन हुने अवस्था छ । तत्काल दुई दलको मात्र सरकार बन्नेछ । सरकारको स्वरूपबारे बिहीबार नाम पेस भएपछि दुई दलले थप निर्णय गर्नेछन् ।

एकता प्रक्रिया निर्णायक विन्दुमा

कम्युनिस्ट पार्टीको नाममा फरक धारको राजनीति गर्दै स्थापित भएका दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र अब औपचारिक रूपमा एक हुने विन्दुमा पुगेका छन् ।

एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने, विकास र समृद्धिका लागि स्थिर सरकार चलाउने उद्घोषसहित चार महिनाअघि वाम गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा सहभागी यी दुई दलले एकताको औपचारिक खाका तयार गरिरहेका छन् ।

बुधबार रातिसम्म चलेको वाम एकता संयोजन समितिको बैठकले एकताको विधिसम्बन्धी ९५ प्रतिशत काम सकेको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । बाँकी विषय टुंग्याउने गरी बिहीबार समितिको बैठक पुन: बस्नेछ ।

हालसम्मको प्रगतिअनुसार एकीकृत पार्टीको नेतृत्व एकता महाधिवेशनसम्म एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त रूपमा गर्नेछन् । पार्टीको कार्यकारी भूमिकामा दुवै जना रहने विधि तयार गरिएको हो ।

‘को–चेयरको अवधारणामा जाने भन्नेमा अब सहमति बनिसकेको छ,’ एमाले महासचिव पोखरेलले कान्तिपुरसँग भने, ‘संगठनात्मक र सैद्धान्तिक व्यवस्थापनसम्बन्धी काम गर्न कार्यदल बनाउने कुरा भएको छ ।’ यस्तो कार्यदलले पार्टी एकता र सिद्धान्तको विस्तृत स्वरूप तयार गर्नेछ ।

शीर्ष नेता र एकता संयोजन समितिले एकताको सैद्धान्तिक स्वरूपलाई औपचारिकता दिएपछि त्यसको प्राविधिक काम कार्यदलले पूरा गर्नेछ ।

‘अध्यक्षहरूले गम्भीर छलफल गर्नुभयो, सकारात्मक दिशामा अघि बढेको छ । बुधबारको छलफललाई निरन्तरता दिँदै निष्कर्ष निकाल्छौं,’ माओवादी नेता श्रेष्ठले भने । सरकारको पाँचवर्षे कार्यकालभित्र ओली र दाहालले प्रधानमन्त्री आलोपालो गर्ने कि नगर्ने भन्नेमा अझै टुंगो लागिसकेको छैन । माओवादी पक्षले अझै पनि आलोपालो नेतृत्वमै सहमति हुन लागेको बताइरहेको छ ।

एमाले पक्षले भने एकीकृत पार्टी भएपछि प्रधानमन्त्री आलोपालो भन्ने नहुने दाबी गर्दै आएको छ । स्थायी समितिको बुधबारको बैठकमा पनि ओलीले यसबारे स्पष्ट पारेनन् ।

केही दिनयता दुवै दलका अध्यक्ष पूर्ववत् अडान छाडदै अघि बढ्न तयार भएपछि एकता प्रयास अन्तिम विन्दुमा पुगेको हो । त्यसअघि एमालेले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा एउटै व्यक्ति हुनुपर्ने अडान राख्दै आएको थियो । माओवादीले एकीकृत पार्टीको अध्यक्ष आफैंले पाउनुपर्नेमा जोड दिँदै आएको थियो ।

पार्टीको आकार र संगठनात्मक कार्यशैलीका कारण पनि माओवादीलाई एकल नेतृत्व हुने गरी अध्यक्ष पद दिन नसकिने एमालेको धारणा थियो । पार्टीको सम्पूर्ण कमान्ड छाडिदिएर प्रधानमन्त्री बन्दा आफूलाई दाहालले लगाम लगाउन सक्ने भय ओलीमा थियो । त्यसैले उनी आफ्नो भूमिका नै नरहने गरी एकल नेतृत्व दाहाललाई दिन तयार थिएनन् ।

माओवादी आफ्नो पार्टीको आकार जत्रो भए पनि दुई फरक धारबीचको एकता भएकाले त्यसको सम्मानजनक व्यवस्थापनका लागि अध्यक्ष पाउनुपर्ने अडानमा थियो । माओवादीको ठूलो पंक्तिले दाहाललाई पार्टीको नेतृत्व छाडेर कुनै पनि हालतमा एकता नगर्न दबाब बढाएको थियो ।

आ–आफ्ना अडानमा अल्झिइरहँदा एकता भाँड्न खोज्नेहरूलाई बल मिलेको निष्कर्ष दुवै पक्षले निकालेपछि दुवै दल निर्णायक मोडमा पुगेका हुन् । एकतालाई निष्कर्षमा पुर्‍याउन ओली र दाहाल गत सातादेखि निरन्तर छलफलमा थिए । सोमबार उनीहरूबीच एकताको विधिमा सैद्धान्तिक रूपमा सहमतिनजिक पुगे र मंगलबार पनि झन्डै एक घण्टा कुराकानी गरे । बुधबार बिहान १ बजे ललितपुरको मानभवनस्थित शारदा अधिकारीको घरमा संयोजन समितिको बैठक बसेको थियो ।

दुई दलबीच अब शीर्ष नेताहरूको व्यवस्थापन कसरी गर्ने र पार्टीका स्थायी समिति, केन्द्रीय समिति लगायतलाई कसरी टुंग्याउने भन्नेमा सैद्धान्तिक समझदारी बन्न बाँकी छ ।

-दुर्गा खनाल/ कान्तिपुर