शिक्षकहरुलाई तलब उपलब्ध नभएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनद्धारा आन्दोलन गर्ने घोषणा (भिडियो सहित)

  • १ फाल्गुन २०७४, मंगलवार
  • कमल खत्री
  • 2692 पटक पढिएको

म्याग्दी, १ फागुन । म्याग्दीका तीन वटा स्थानीय तहका शिक्षकहरुले चालु आथिृक बर्षको दोस्रो चौमासिकको तलब अझै पाउन सकेका छैनन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामामा रहेका सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताहरुले गत मंसिरमै पाउनुपर्ने तलब अझैसम्म नपाएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले आन्दोलनको घोषणा गरेको छ ।
मंगलबार संगठनले बेनीमा पत्रकार सम्मेलन गर्दै स्थानीय तहका जनप्रतिनिधिको बेवास्ता, कर्मचारीको ढिलासुस्ती, शिक्षा मन्त्रालयको लापरबाही र शिक्षा कार्यालयको समन्वयको कमीका कारण समयमै तलबभत्ता पाउन नसकेको भन्दै सम्बन्धित निकायलाई दबाब दिन आन्दोलन गर्ने घोषणा गरेको हो ।

कार्यक्रममा संगठनका अध्यक्ष जयराम सुवेदीले राज्यपुर्नसंरचनासंगै जिल्ला, क्षेत्र र केन्द्रमा रहेको अधिकार स्थानीय तहमा पुग्नुपर्ने अवस्थामा शिक्षकहरु आफ्नो तलब पाउनबाट बञ्चितीमा पर्नु दुखदायी भएको बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीले शिक्षकहरुलाई समयमै तलब उपलब्ध गराउन दबाब दिन स्थानीय तह र जिल्ला शिक्षा कार्यालयमा दबाबमुलक कार्यक्रम गर्ने निर्णय गरे बमोजिम जिल्लामा रहेका अन्य शिक्षकका पेशागत संघसंगठनहरुसंग समन्वय गरि दबाबमुलक कार्यक्रम गर्ने अध्यक्ष सुवेदीले बताउनुभयो ।

राज्य पुनसंरचनासंगै शिक्षा मन्त्रालयले शिक्षकको तलबभत्ता, मसलन्द, छात्रावृत्ती, पाठ्यपुस्तक खरिदको बजेट सहित २३ वटा अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेको छ । स्थानीय तहले तलबभत्ता निकासा गर्न ढिलाई गर्दा शिक्षकहरु समस्यामा परेका छन् । म्याग्दीका अन्य स्थानीय तहका शिक्षक कर्मचारीले समयमै तलबभत्ता पाएपनि बेनपा, रघुगंगा र अन्नपूर्ण गाउँपालीकाले दुई महिना ढिलाई हुँदा समेत तलब उपलब्ध गराउन नसकेकाले आन्दोलन गर्ने निर्णय भएको सुवेदीले जानकारी दिनुभयो ।

बेनी नगरपालीकामा ५५४, रघुगंगामा २७८ र अन्नपूर्ण गाउँपालीकामा ३०२ गरी तिन वटा स्थानीय तहमा एक हजार १३४ जना शिक्षक कर्मचारी समयमै तलब पाउनबाट बञ्चित भएका हुन् । स्थानीय तहको बेवास्ताका कारण हालसम्म मसलन्द खर्चका साथै आगामी आर्थिक वर्षको पाठ्यपुस्तक खरिद र छात्रवृत्ती वितरणका लागि अझै बजेट निकासा नभएको संगठनका सचिब रमेश सिंह ठकुरीले बताउनुभयो ।
स्थानीय तहले माघ मसान्तसम्म तलब उपलब्ध गराउने आश्वासन पुरा नगरेपछि फागुन २ गतेदेखि तलब निकासा नभएका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने लगायतका दबाबमुलक कार्यक्रम तय गरिएको संगठनले जनाएको छ । यता स्थानीय तहहरुले भने मन्त्रालयले आबश्यकता अनुसार बजेट नपठाएको कारण तलब निकासामा ढिलाई भएको बताउँदै आबश्यक पहल गरिरहेको बताएका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l