म्याग्दीमा चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुँदै (भिडियो सहित)

  • १ फाल्गुन २०७४, मंगलवार
  • kamal
  • 2439 पटक पढिएको

बाबियाचौर १ फागुन । म्याग्दीमा यही फागुन १६ देखि १९ गतेसम्म चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको मुल आयोजना तथा जिल्लामा रहेका स्थानीय तहहरुको आयोजनामा जिल्लामै पहिलो पटक सदरमुकाम बेनी बाहिर अन्तर विद्यालय स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीले मंगलवार मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा पत्रकार सम्मेलन गरि फागुन १६ देखि १९ गतेसम्म मालीका गाउँपालीकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौर तथा बेनी बजारमा विद्यागत रुपमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो ।

कार्यक्रममा समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले राज्य पुनसंरचनासंगै कार्यान्वयनमा आएका स्थानीय तहहरुको अपनत्व, ग्रामिण क्षेत्रका विद्यालयहरुको अपेक्षा अनुसार स्थानीय तहहरुसंग समन्वय गरेर पहिलो पटक सदरमुकाम बाहिर राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, फागुन १६ गते दरवाङमा उद्घाटन हुने प्रतियोगिताको १९ गते बाबियाचौरमा समापन गरिनेछ । कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागीता जनाउने प्रतियोगिता अन्तरगत भलिबल, एथ्लेटिक्स, कबड्डी, कँराते, उसु र तेक्वान्दो बिधामा प्रतिस्पर्धा हुने जनाएको छ । दरबाङ बजारमा भलिबल, रणबाङ, सहश्रधारा एथ्लेटिक्स, बावियाचौरमा कबड्डी र बेनीमा मार्सल आर्टका खेलहरु सञ्चालन गरिनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद रु ९५ हजारको साथमा रनिङ शिल्ड, ट्रफि मेडल र प्रमाणपत्र तथा द्धितीय र तृतीय हुने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश रु ५५ हजार र ३५ हजार तथा सबै खेल बिधामा उत्कृष्ट खेलाडीलाई एक हजार पाँच सयका दरले पुरस्कृत गरिने अध्यक्ष विश्वकर्माले बताउनुभयो । प्रतियोगिताको निश्चित बिधामा भाग लिने विद्यालयलाई नगद रु १० हजारका दरले सुबिधा उपलब्ध गराइने समितिले जनाएको छ ।प्रतियोगिता सञ्चालनका लागि १६ लाख ९५ हजार रुपैया बराबरको बजेट आवश्यक पर्ने भएकाले सबै क्षेत्रबाट सक्दो सहयोगको लागि अध्यक्ष विश्वकर्माले आह्वान समेत गर्नुभएको छ । जिल्लाका छ वटै स्थानीय तह, कार्यक्रम सञ्चालन हुने ठाउँका विद्यालय, युवा कल्व, आमा समूह र खेलकुदका विषयगत संघसंग सहकार्य गरेर प्रतियोगिता सञ्चालन गरिने समितिले जनाएको छ ।

प्रतियोगिताको तयारीका लागि अध्यक्ष विश्वकर्माको संयोजकत्वमा ११ वटा उपसमिति गठन भएको छ । पत्रकार सम्मेलनमा मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका र मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले ग्रामिण क्षेत्रमा पहिलो पटक जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सञ्चालन हुनु स्वागतयोग्य भएको बताउँदै प्रतियोगितालाई सफल बताउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।समितिका सदस्य लेखनाथ शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा मालीका गाउँपालीकाका उपाध्यक्ष खरमाया बिटालु, दरवाङका वडा अध्यक्ष सन्तनाथ सुवेदी, मंगला वडा २ का वडा सदस्य राजु पाण्डे र जनप्रिय माविका प्रअ दिवाकार सुवेदीले गाउँपालीकामा प्रतियोगिता आयोजना हुन लागेकोमा उत्साहीत भएको बताउनुभयो ।

kamal