सुदिप स्मृति कोषद्धारा कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत

  • १ फाल्गुन २०७४, मंगलवार
  • 1942 पटक पढिएको

म्याग्दी, १ फागुन । सुदिप रावल स्मृति कोषले राष्ट्रिय राष्ट्रिय परिक्षा बोर्डले २०७३ र २०७४ सालमा लिएको कक्षा ११ र १२ को परिक्षामा सम्मिलित भई उत्कृष्ट अंक ल्याउने म्याग्दी जिल्लाका तीन विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । स्वर्गीय रावलको स्मृति दिवसको अवसरमा मंगलवार बेनीमा २०७३/७४ सालमा लिएको परीक्षाकोे औसत अंकमा जिल्लामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान गरिएको हो ।

सो अवसरमा जिल्ला प्रथम हुने न्यु वेष्ट पोइन्ट आवासीय माविकी छात्रा गंगा शेरपुञ्जा (७९.२), द्धितीय हुने माउण्ट एभरेष्ट आवासीय उच्च माविकी छात्रा काजल रोका (७८.८२) र तृतीय हुने माउण्ट एभरेष्टकी सुस्मा आर्चाय (७५.२) लाई सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका साँसद भुपेन्द्रबहादुर थापा, कोषका अध्यक्ष सन्तोष रावल र संरक्षक दुर्गाबहादुर रावलले उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत र सम्बन्धित विद्यालयलाई सम्मान गर्नुभएको थियो ।

सम्मानित हुने विद्यार्थी उच्च शिक्षाका लागि जिल्ला र देश बाहिर रहेकाले विद्यालयका शिक्षकलाई कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको थियो । प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीलाई क्रमशः नगद रु. ५ हजार, ३ हजार र २ हजारको साथमा सम्मान पत्र एवम् खादाले सम्मान गरिएको थियो । त्यस्तै विद्यालयलाई सम्मानपत्र प्रदान गरिउको थियो । २०६५ साल फागुन १ गते बागलुङमा भएको मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका बेनी नगरपालिका–१ रत्नेचौरका रावलको स्मृतिमा रु २ लाख ५० हजारको अक्षय कोषको स्थापना गरिएको छ ।

शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा रचनात्मक कार्य गर्ने उदेश्यले स्थापित कोषको रकमलाई बृद्धि गर्दै सामाजिक कार्यहरुमा समेत थप रचनात्मक कार्यहरु गर्ने योजना रहेको कोषका अध्यक्ष रावलले बताउनुभयो । कार्यक्रममा पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि साँसद थापाले स्वर्गीय रावलको स्मृतिमा कोषले शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा गर्दै आएको कार्यहरु रचनात्मक रहेको बताउनुभयो । कोषका अध्यक्ष रावलको अध्यक्षतामा भएको कार्यक्रममा कोषका कोषाध्यक्ष चन्द्रकुमार केसीले शुभकामना मन्तव्य, सदस्य हरिकृष्ण गौतमले स्वागत र सचिब विक्रम बोगटीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

सोही अबसरमा स्वर्गीय सुदिपका नवविवाहित माहिला दाजु विकास रावल र भाउजु सन्ध्या केसी रावलले कोष मार्फत म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहिन विद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको दृष्टिविहिन पुस्तकालयलाई २५ हजार सहयोगको घोषणा गरेका छन् ।