भैंसीपालनबाट ३० लाख आम्दानी

  • २९ माघ २०७४, सोमबार
  • 2311 पटक पढिएको

रुकुम (पश्चिम) — मुुसिकोटका यामराज गौतम ३० वर्षको उमेरसम्म रोजगारीका निम्ति भौंतारिए । तर, ४ वर्षयता उनी स्वरोजगार बनेका छन् । जागिर र उद्योगलाई मात्र रोजगारी ठान्ने मानसिकताबाट मुक्त हुँदै गौतम अन्तत: कृषितर्फ लागे । ०७० देखि भैंसीपालन व्यवसाय थालेका उनले चार वर्षको अवधिमा ३० लाखभन्दा बढी आम्दानी गरिसकेको बताए ।

सदरमुकाम खलंगा बजारमा दूध बिक्री वितरणको उद्देश्य राखेर गौतमले भैंसीपालन थाले । हाल उनीसँग ६ वटा भैंसी र एउटा गाई छन् । ६ मध्ये ४ वटा भैंसी र एउटा गाई दुहुना छन् । ४ भैंसी र १ गाईबाट उनले दैनिक ३५ लिटर दूध बजारमा बिक्री गर्छन् । भैंसीपालन व्यवसाय थालेदेखि नै ३५ लिटर दूध नघटाएर बिक्री वितरण गरिरहेको गौतमले बताए । ‘सानै लगानी र थोरै मिहिनेतबाट थालेको व्यवसायले उत्साही छु,’ उनले भने । गौतमले महिनाको ४५ हजार आम्दानी गर्छन् । ५० रुपैयाँमा प्रतिलिटर दूध बिक्री गर्ने गरेका उनले अरू खर्च कटाएर ४५ हजार आम्दानी भइरहेको बताए ।

चार वर्षअघिसम्म आफैं रोजगारी खोज्दै हिँड्ने गौतम अब आफूसहित ३ जनालाई रोजगारी दिने भएका छन् । आफू भैंसी दहुने, दूध विक्री गर्ने र औषधिमुलो गर्न व्यस्त हुन्छन् भने अन्य २ जनाले घाँसपातको व्यवस्थापन गर्ने गरेका छन् । अरू कसैसँग रोजगारी मागेर खानुभन्दा स्वरोजगार बन्नु र अरूलाई रोजगारी दिँदा आफैंप्रति गौरव लागिरहेको उनले बताए । ‘म जागिरकै निम्ति धेरै भौंतारिएँ, गर्ने चाहना भएपछि गर्न सकिने रहेछ ।’ रोजगारी खोज्ने निहुँमा ऊर्जाशील समय खेर गएकामा पछुतो लागेको उनले बताए ।

‘यही व्यवसायमा पहिल्यै लागेको भए अझै धेरै गर्न सकिन्थ्यो होला,’ उनी भन्छन्, ‘रोजगारीका निम्ति अनावश्यक रूपमा ऊर्जाशील समय खेर फालियो ।’ उनले दूधसँगै कम्पोस्ट मल समेत बिक्री गरेर आम्दानी गरिरहेका छन् । उनी सदरमुकामका पहिलो व्यावसायिक भैंसीपालक तथा दूध उत्पादक हुन् । खलंगा बजारमा दूधको आवश्यकता बढदै जाँदा भैंसीपालन उपयुक्त व्यवसाय हुने लागेपछि उनी यसतर्फ आकर्षित भएका थिए ।

बजारमा बढिरहेको दूधको माग परम्परागत रूपमा गरिएको भैंसी तथा गाईपालनबाट पूर्ति हुन सम्भव थिएन । यही अवसरलाई छोपेका गौतम आफूलाई युवा उद्यमीको रूपमा स्थापित गर्न सफल भएका छन् । इच्छाशक्ति भए स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने उदारण पेस गौतमले गरेका छन् । ‘विदेश जाने विषयमा मैले सोचिनँ, स्वदेशमै कसरी जागिर खान सकिन्छ भन्नेमै मैले समय खर्च गरें,’ गौतमले भने । व्यवसायकै क्रममा उनीमा प्राविधिक दक्षतासमेत बढदै गएको छ । भैंसी तथा गाईमा बेलाबेला देखिने समस्या समाधानको क्रममा धेरै कुरा सिकेको उनले बताए । ससाना समस्या आफैंले समाधान गर्ने र अलि ठूला समस्या आए मात्रै प्राविधिकलाई बोलाउने गरेको गौतमले बताए ।

-हरि गौतम/कान्तिपुर