भारतीय एक्जिम बैंकको स्वीकृति कुर्दै राहुघाट

  • २९ माघ २०७४, सोमबार
  • 1900 पटक पढिएको

काठमाडौं, २९ माघ । ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको छ, भारतीय कम्पनी जयप्रकाश एसोसिएट्सले । तर, म्याग्दीको गलेश्वरमा निर्माण हुने आयोजनामा सम्झौता भएको तीन महिना बितिसक्दा पनि काम शुरु भएको छैन ।

त्यसको कारण हो, भारतीय एक्जिम बैंकले ठेकेदार कम्पनीको स्वीकृति अड्काएर राख्नु । बैंकको बोर्डबाट हालसम्म एसोसिएट्सले स्वीकृत पाएको छैन । उक्त आयोजना भारतीय एक्जिम बैंकको ऋणमा निर्माण गर्ने ठेकेदार कम्पनीको योजना छ । गत ७ मंसिरमा विद्युत प्राधिकरण र एसोसिएट्सबीच निर्माण सम्झौता भएको थियो । सिभिल र हाइड्रोमेकानिकल निर्माणको जिम्मा उक्त कम्पनीले पाएको छ ।

आयोजना प्रमुख श्रीरामराज पाण्डे भन्छन्, ‘एक्जिम बैंकलाई एक महिनाअघि कम्पनी स्वीकृतिका लागि पठाएको हौं । स्वीकृति नपाएकाले ठेकेदारले काम शुरु गरेको छैन ।’

निर्माण थालेको ४५ महिना अर्थात् सन् २०२१ सम्ममा उक्त आयोजना सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । तर, तीन महिना त्यत्तिकै बितेको छ ।

इन्जिनियरिङ, प्रोक्योमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) मोडेलमा निर्माण हुन लागेको हो, उक्त आयोजना, जसको लागत ६ अर्ब रुपैयाँ अनुमानित छ ।

माघदेखि नै ठेकेदार परिचालित हुने आयोजनाको सोच थियो । सोही लक्ष्य भेट्ने उद्देश्यले कम्पनी स्वीकृतिको प्रस्ताव एक्जिम बैंकमा पठाइएको पनि हो । तर, बैंकको ढिलासुस्तीले लक्ष्य भेट्न गाह्रो पर्ने शुरुमै देखिइसकेको छ ।

भारतीयकै कारण सात वर्ष ढिलाइ

यसअघि उक्त आयोजना ३२ मेगावाट क्षमतामा डिजाइन गरिएको थियो । त्यसमा आठ मेगावाट बढाएर ४० मेगावाट पुर्‍याइएको छ ।

भारतीय कम्पनीकै कारण सात वर्षदेखि अल्झेको आयोजना निर्माणमा अझै लक्ष्य पूरा नहुने संकेत

शुरुमा ०७० सालमै उत्पादन थाल्ने लक्ष्य थियो । सात वर्षअघि निर्माणको जिम्मा पाएको थियो, भारतकै कम्पनी आरभीआरसीएले । तर, ठेकेदार कम्पनी नै घाटामा गएपछि सम्झौता रद्द गर्नुपर्‍यो ।

यस आयोजनाको सम्भाव्यता अध्ययन सन् १९९८मै भएको हो । र, सन् २००८मा त्यसलाई अद्यावधिक गरियो ।

सर्वसाधारणलाई पनि सेयर

आयोजनाका लागि आवश्यक दुई सय ८२ रोपनी अधिग्रहण भइसकेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण लगभग भइसकेको छ । तर, बाँधस्थलमा निर्माण गर्नुपर्ने आधारशिविरका लागि थप जग्गा खरिद गर्न आयोजनाले अधिग्रहणको काम अगाडि बढाएको छ ।

शुरुमा ३२ मेगावाटका लागि जग्गा अधिग्रहण गरिएको थियो । तर, आठ मेगावाट थपिने भएपछि आयोजनाले पुनः जग्गा अधिग्रहण गर्न लागिएको हो ।

कालीगण्डकीको सहायक नदी हो, राहुघाट । उक्त आयोजनाबाट उत्पादन हुने बिजुली भने मोदीखोलास्थित सब-स्टेसनमा जोड्ने प्राधिकरणको योजना छ ।

उक्त आयोजना कम्पनी मोडेलमा निर्माण गर्न लागिएको छ । त्यसका लागि रघुगंगा हाइड्रोपावर लिमिटेड स्थापना गरिएको छ । कर्मचारी र सर्वसाधारणका लागि पनि सेयर बिक्री गर्ने योजना छ ।

सुदिल पोखरेल/अनलाइन खबर