बैसरीमा बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, घाईते दुई जनालाई पोखरा रिफर

  • २८ माघ २०७४, आईतवार
  • 4598 पटक पढिएको

म्याग्दी, २८ माघ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आईतवार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परि वेपत्ता भएकी रघुगंगा गाउँपालिका– १ की लिमायाँ पुर्जा समेत मृत फेला परेपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो ।

उनलाई दुर्घटनास्थलदेखि बगाएर करिब १ किलोमिटर तल राहुपारे नजीकैको झोलुङ्गे पुल छेउको किनारमा फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परि शक्त घाईते बोलेरो चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ का भुपिन पुन र यात्रु शिखकै रितु तिलिजा पुनको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

ग १ ज ५७६० नम्बरको बोलेरो सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खसेर दुर्घटना भएको हो । उक्त दुर्घटनामा परि घाईते भएका अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेकी कल्पना गर्वुजा र पोखरा अर्चलबोट बस्ने दिपा पुनलाई थप उपचारको लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । स्रोतका अुनसार पोखरा देखि बेग जाँदै गरेको सो जिपमा चालक सहित ५ जना सवार रहेका थिए ।

दुर्घटनालगत्तै स्थानीयबासी र प्रहरीद्धारा घाईतेहरुको उद्धार गरिएको थियो । शिवरात्री पुजाको लागि पोखरादेखि बेग घर र आफन्त भएका यात्रु सहित केही सामान बोकेर सो बोलेरो बेनी हुँदै गन्तव्यतर्फ पुग्दै गर्दा बाटैमै दुखत दुर्घटना भएको बेगका युवा खिम फगामीले जानकारी दिनुभयो ।