त्रिशूली दुर्घटना अपडेटः बेपत्ता सचिव मृत भेटिए

  • २७ माघ २०७४, शनिबार
  • 1933 पटक पढिएको

२७ माघ ।  शनिबार बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ ।

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरे । उनका अनुसार, बेपत्ता दुईजना भेटिएका छैनन् । उनीहरूकाे अहिले खोजी कार्य भइरहेको छ ।

‘दुर्घटनामा बेपत्ता सचिव रामानन्द यादवको शव भेटिएको छ,’ सई लामाले  भने, ‘हराएका २ जनाको अवस्था पत्ता लागेको छैन । अहिले हामी वेपत्ताको खोजीमा लागिरहेका छौं ।’

शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।

दुर्घटनामा सचिव यादवसहित उनका  २२ वर्षीय छोरा सन्तोष र साथीको छोरी १५ वर्षीया उन्नति गुप्ता वेपत्ता भएकोमा सचिव यादवको शव फेला परेको हो ।

दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।

सचिव यादव कपिलवस्तुस्थित घरबाट काठमाडौं आउँदै थिए । प्रहरीका अनुसार, दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

अनलाइनखबर