सामाजिक सञ्जालबाट जुट्यो ५० हजार

  • २६ माघ २०७४, शुक्रबार
  • 1951 पटक पढिएको

म्याग्दी, २५ माघ । बेनी नगरपालिका–२ भकुण्डेका नरप्रसाद सुनारको गुमेको आँखाको उपचारका लागि मलेसियामा रहेका एक म्याग्देलीले सामाजिक सञ्जालको सहयोगमा ५० हजार आर्थिक संकलन गरेका छन् । बेनपा–१ अर्जम घरभई रोजगारको सिलसिलामा मलेसियामा रहेका आशिष परियार ‘झिल्के’ विभिन्न देशमा रहेका नेपालीबाट ५० हजार ८१७ रुपैयाँ संकलन गरेका हुन् । मलेसिया, जापान, हङकङ, साउदी अरवर, दुवईमा रहेका नेपाली मार्फत उपचारमा आर्थिक जुटाएको परियारले बताए ।

गतबर्ष अर्जमकै क्यान्सर पीडित बालिका अरनीमा नेपालीका साथै गोर्खाकी शुष्मा परियार,बागलुङकी रिमा सुनार,कलाकार जलजला परियार, बागलुङकी सावित्री थापा लगाएत विभिन्न समस्या भएका नेपालीको उपचारमा सहयोग जुटाउने गरेका छन् । ‘मानवीय सहयोग जुटाउन पनि सञ्जालको प्रयोगले सहज भएको छ ।

आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछु’ उनले भने । उनका अनुसार आँखामा समस्या भएका सुनारलाई मलेसियामै विदुर नेपाली र शिव घिमिरेले सहयोग गरेका छन् । सुनुवारको तीनवटा अप्रेसन मध्ये एक अप्रेसन सफल भएको छ । म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सहयोगमा सुनुवारको काठमाण्डौ स्थित दृष्टी आँखा केन्द्रमा उपचार भइरहेको छ । उनको उपचार, नियमित औषधी र थप दुईवटा अप्रेसनका लागि थप आर्थिक सहयोगको आवश्यकता रहेको कोषका अध्यक्ष राजेश शाक्यले बताए ।