बेनीमा एकैदिन दुई कविता कन्सर्ट(भिडियो सहित)

  • २५ माघ २०७४, बिहीबार
  • 3771 पटक पढिएको

सन्दीप खत्री 

बेनी, २५ माघ । बिहिबार बेनीमा दुई वटा कविता कन्सर्ट कार्यक्रम सम्पन्न भए । नेपाली साहित्यको क्षेत्रमा आफ्नो परिचान वनाउँदै गरेका दुई युवा कविले म्याग्दीलाई कवितामय बनाए । कवि नवराज पराजुली र छन्द कवि सुदेश सत्यालले विहिबार बेनीमा भव्य प्रस्तुति दिए ।

विहान ८ बजेदेखि म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा कवि नवराज पराजुलीको कविता कन्सर्ट भएको थियो । विहान ठीक ८ बजे सुरु भएको कार्यक्रममा कवि नवराज पराजुलीले यथार्थ सामाजिक परिवेशलाई कविता मार्फत व्यक्त गरेका थिए । पौने घण्टासम्म कविता बाचन गरेका कवि पराजुलीले सगरमाथाको गहिराईबाट बाचन सुरु गरेका थिए । च्याउ, मोक्ष, खोया, हेप्पी बर्थडे लगायतका कविता बाचन गरे । उनका सबै कविताहरुमा दर्शकहरुले कविताको रसपान गरे । म्युजिकमा कविता बाचन गर्ने भनिएपनि कवि पराजुलीले आफूले कालिगण्डकीको लय पाएकोले म्युजिकमा कविता बाचन नगर्ने बताएपछि म्युजिक विना नै कविता बाचन गरेका थिए ।

 

उनको हेप्पी वर्थडे छोरा, खोयाले धेरैको मन छोयो भने मोक्ष कविताले सबैलाई भावनामा डुबाईदिएको थियो । विभिन्न विम्ब प्रयोग गरी समाजको यथार्थतालाई कविता मार्फत व्यक्त गर्न सिपालु पराजुलीको बाचन शैलीले समेत प्रभावित बनाएको थियो ।

पछिल्लो समयमा युवा माझमा लोकप्रिय बनेका कवि पराजुलीले समगरमाथाको गहिराई नामक कविता संग्रह समेत प्रकाशित गरेका छन् । कार्यक्रममा पैतला उपन्यासका लेखक गनेश पौडेल, कवि सुदेश सत्यालले समेत प्रस्तुति दिएका थिए । म्याग्दी बहुमुखी क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सञ्चालक समिति सदस्य माधवप्रसाद रेग्मीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी प्याव्सन म्याग्दीको आयोजनामा रुचि चलिचित्र मन्दिरमा छन्द कवि सुदेश सत्यालले धमाका मच्याए । नेपालमा लोप हुँदै गएको छन्द विधालाई अंगालेर नेपाली साहित्यमा प्रवेश गरेका सत्यालले विहिबार म्याग्दीका स्रष्टाहरुलाई छन्द कविताको रसपान गराए । जिल्लामा रहेका निजि विद्यालयका शिक्षक, विद्यार्थी तथा अन्य दर्शक, साहित्यप्रेमीहरुको उपस्थितिले खचाखच भरिएको रुचि चलिचित्र मन्दिर सत्यालको छन्द कविताले गुञ्जयमान भएको थियो । “सस्तो भो जीवन” शिर्षकको कविताबाट बाचन सुरु गरेका सत्यालले “भो तालि नबजाउ” लगायतका झन्डै एक दर्जन कविता बाचन गरे । उनका प्रत्येक कविताले दर्शक दिर्धाबाट “वान्स मोर”, “वाही वाही” र तालिको भरपुर साथ पाए ।

प्याव्सन म्याग्दीका अध्यक्ष कृष्णप्रसाद सुवेदीको अध्यक्षता, बालकृष्ण सुवेदीको स्वागत तथा राजु केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कवि नवराज पराजुलीले प्रस्तुती राखेका थिए भने आख्यानकार गणेश पौडेलको उपस्थिति रहेको थियो ।
यसैवीच विहिबार नै बुलबुल पाठक समूह माउन्ट एभरेष्टको आयोजनामा स्रष्टा सम्मान तथा पत्रिका विमोचन कार्यक्रम समेत भएको थियो ।