धौलागिरि आधार शिविरमा थुप्रिएको फोहोर हटाउने तयारी

  • २५ माघ २०७४, बिहीबार
  • kamal
  • 2757 पटक पढिएको

म्याग्दी, २५ माघ । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउने तयारी गरिएको छ । चक्रिय धौलागिरी पदमार्गमा पदयात्रा र धौलागिरी हिमालको आरोहणका लागि जाने पर्यटकहरुले बर्षौदेखि जथाभावि फ्याँक्दै आएको फोहोरलाई धौलागिरि गाउँपालिकाको पहलमा हटाउन लागिएको हो ।

आधार शिविरमा बर्षौदेखिको फोहोर थुप्रो लागेर प्रंदुषित बन्दै गएपछि यस बर्षदेखि गाउँपालिकाले आधार शिविरलाई स्वच्छ र सफा राख्नका लागि फोहोर हटाउने अभियानका थालनी गर्न लागेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । ‘‘ फोहोरले आधार शिविरमा प्रदुषण र फोहोर बढेको गुनासो बढीरहेको छ, एकैपटक सबै फोहोर हटाउन सक्ने अबस्था छैन्, हिमालको फेदीमा थुप्रिएको फोहोरको सहि व्यवस्थापनको सुरुवात गर्न लागेका हाँै ’’– गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।

चालु आर्थिक बर्ष २०७४÷७५मा गाउँपालिका कार्यालयले धौलागिरिको आधार शिविरमा थुप्रिएको फोहोर हटाउनका लागि रु ८ लाख बजेट विनियोजन गरेको जनाएको छ । यो बजेटबाट मुदीको बगरमा रहेको राउण्ड धौलागिरि युवा क्लबसंग समन्वय गरि फोहोर व्यवस्थपनको काम गरिने अध्यक्ष पुनले बताउनुभयो । यो बर्ष विनियोजन गरेको बजेट प्रयाप्त नभएपनि यो थालनी मात्रै भएको र आगामी बर्ष अन्य निकायसंग समेत समन्वय गरि आधार शिविरमा बर्षौदेखि थुप्रिएका फोहोरलाई व्यवस्थापन गर्ने तयारी गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

राउण्ड धौलागिरि युवा क्लबले गत बर्ष समेत आफ्नै नेतृत्वमा आधार शिविरको फोहोर हटाउने काम गरेको थियो । क्लबले तीन पटक सम्म आधार शिविर क्षेत्रमै पुगेर त्यहाँ पुगेका पर्यटकहरुको फोहोर व्यवस्थापनमा सम्बन्धित ट्रेकिङ तथा आरोही कम्पनीका पथपर्दशकहरुलाई सचेत गराएको थियो । क्लबले निरन्तर ताकेता गर्दा समेत पर्यटकहरु लिएर गएका ट्रेकिङ तथा आरोही कम्पनीहरुका गाईडहरुले आधार शिविर क्षेत्रमा सहि तवरले फोहोर व्यवस्थापनमा आनाकानी गर्दै आएको अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गर्नु सकरात्मक रहेको क्बलका अध्यक्ष डिल पुनले बताउनुभयो ।

अहिले आधार शिविरमा पर्यटक लैजाने पथपदर्शकहरु अधिकाँशले जल्ने र नजल्ने सबै फोहोरलाई आगो लगाएर यत्रतत्र बनाएर फर्कने गरेको पाईएको छ । पर्यटन विकासको सम्भावनायुक्त क्षेत्र भएपनि राज्यको तर्फबाट उचित पहल नहुनु र यस क्षेत्रमा जाने पर्यटक टोलिको सम्बन्धमा सरकारी तवरबाट कुनैपनि निगरानी नहुँदा आधार शिविरमा फोहोरे बढ्दो क्रममा छ । थोरै मात्रामा ईटाली आधार शिविर क्षेत्रमा ल्याएर फोहोर विसर्जन गर्न थालेपनि पूर्ण रुपमा आफ्नो फोहोर व्यवस्थापन नगरि पर्यटक र उनका पथपदर्शक फर्कने गरेका छन् ।

आधार शिविरमा पुग्ने पर्यटक र तिनीहरुका सहयोगीले प्रयोग गरेर फालेका कपडा, ग्याँस सिलिण्डर, भारी बोक्ने क्यारी, सिसाका बोतल, रबर र फलामका भाँडाकुडा, खानाका बट्टा, चियाका थर्मस, डोका, खादा, खाजा प्याक गरिएका प्याकेट तथा प्लास्टिक लगायतको फोहोर थुप्रिएको छ । यस क्षेत्रमा हेलिकप्टर मार्फत पु¥याईएका टायर , धातुका सामाग्री र आरोहणमा प्रयोग गरिएका उपकरण समेत आधार शिविरमै अव्यवस्थित तवरले फालिँदै आईएको छ ।

kamal