उत्पादन मिति नराखीकन चाउमीन बिक्री

  • २४ माघ २०७४, बुधबार
  • सन्तोष गौतम
  • 4640 पटक पढिएको

बेनी २४ माघ । म्याग्दीको बेनीमा उत्पादन मिती नराखीकन चाउमीन बिक्री गरेको भेटिएको छ । जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको कालीगण्डकी चाउचाउ उद्योगले उत्पादन मिती नराखीकन चाउमीन बेचेको पाइएको हो । उत्पादन मिती नभएको प्याकेटको चाउमीन प्रशासनले जफत गरी बुधबार नष्ट गरेको छ ।

बेनीका होटल तथा खाजा पसलहरुमा बिक्री गर्न ल्याएको चाउमीनमा उत्पादन मिती नराखेको भेटिएपछि जफत गरेर नष्ट गरीएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो । ७० किलोग्राम चाउमीन प्रहरी, उद्योग वाणिज्य संघ, उपभोक्ता अधिकारकर्मी, बेनी नगरपालीकाका प्रतिनिधिको उपस्थितीमा नष्ट गरिएको हो । ७२ घण्टा उपभोग्य समयअवधि रहेको चाउमीनको प्याकेटमा उत्पादन मिती लेखिएको थिएन् ।

उत्पादन मिति नहुँदा अवधि सकिएपनी उपभोग हुने र त्यसले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने सम्भावना हुन्छ । पहिलो पटक भएकाले ब्यवसायीलाई सचेत र जफत भएको सामान नष्ट गरीएको बताउँदै सहायक प्रजिअ आचार्यले गल्ती दोहोराएमा कारबाही गर्ने चेतावनी दिनुभयो । उपभोक्ताको स्वास्थ्यमाथी खेलवाद गर्नेलाई जरिवानाका साथै पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ । चाउमीन उद्योगीले उत्पादन मिति नराखिकन बेच्ने गरेको गुनासो आएपछि प्रशासनले निगरानी बढाएको थियो ।

कालीगण्डकी चाउचाउका सञ्चालक तेजेन्द्र केसीले कामदारले कमजोरी गर्दा उत्पादन मिती राख्न छुटेको बताउँदै आगामी दिनमा सावधानी अपनाउने प्रतिवद्धता जनाउनुभयो । मिलनचोक, बेनी र दरवाङमा रहेका चाउचाउ उद्योगले म्याग्दीका होटल, रेष्टुरेन्ट र खाजा घरहरुमा चाउमीन आपुर्ती गर्दै आएका छन् ।

सन्तोष गौतम