खेलाडी र नृत्यकार हुँदै प्रशिक्षकको भूमिकामा उचाई लिँदै परियार

  • २२ माघ २०७४, सोमबार
  • 2815 पटक पढिएको

म्याग्दी, २२ माघ । उमेरले २२ बर्षका राजकुमार परियार सानै उमेरदेखि खेलकुद र कलाकारीतमा रुचि भएका व्यक्ति हुन् । त्यही रुचिलाई निरन्तरको मेहनत र लगाबबाट उनले आफुलाई खेलकुद र कलाकारीतामा चिनाएनन मात्रै, अब्बल बन्न पनि सफल रहे । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भएका परियार अहिले म्याग्दीमा उत्कृष्ट नृत्यकार र तेक्वान्डो खेलाडी हुँदै प्रशिक्षकको रुपमा चिनिन थालेका छन् । वि.स. २०६१ सालदेखि प्रकाश माविमा अध्ययन गर्दै गर्दा विद्यालयको आन्तरिक कार्यक्रममा ‘नाच’ देखाउन सुरु गरेका परियारले फुटवल र तेक्वान्डो खेलमा पनि आफुलाई समाहित गर्न थालेका हुन् ।

कलाकारीता र खेलकुद क्षेत्रमा समय खर्चिएको एक दशक बढी लामो संघर्षले उनलाई सबैमाझ चिनाउन सफल भयौ नै, त्यसमा पनि घरपरिवारको चाहनालाई समेत उनले एक अर्थमा पुरा गर्न सफल भए । सानै देखि घरमा नाचगानमा रमाउन चाहने स्वभाबका घरपरिवारको कान्छो छोरा ‘राजकुमार’लाई ठुला कार्यक्रम र टेलिभिजनको पर्दामा देख्ने उनको बाबा पुर्ण परियारको चाहना थियो ।

तर,उनको कलाकारीता यात्राले उचाई लिँदै गर्दा धौलागिरिमा हुने ठुला मेला महोत्सवमा आफ्नो छोराको नृत्य एवम खेल कौशल हेर्न पाएपनि टेलिभिजनको पर्दामा हेर्ने चाहना भने अधुरै रह््यो । ५ बर्ष अगाडी बुबाको दुखत निधन भएपछि स्वर्गिय बुबाको मार्गदर्शन र प्रेरणा बमोजिम टेलिभिजनको पर्दामा आफुलाई उतार्न राजकुमारले कलाकारीतामा आफुलाई थप निखार ल्याउन थाले ।

त्यसको फलस्वरुप २ बर्ष अगाडी उनले गायक सुजन बराईलीको ‘मायाँमा भुलियो’ बोलको पञ्चेबाजा गितमा मोडलिङ गर्ने अवसर पाए । कुशल नृत्यकारको रुपमा आफुलाई स्थापित गरिसकेका परियारले अहिलेसम्म विभिन्न ५ वटा गितहरुमा नृत्य एवम अभिनय गरिसकेका छन् । ‘‘ अहिले तेक्वान्डो प्रशिक्षकको रुपमा काम गर्दै आएको छु, कलाकारीतामा नृत्य, अभिनय र गायन क्षेत्रलाई पनि संगसंगै अगाडी बढाएको छु, यो बर्ष मात्रै तीन वटा म्युजिक भिडियोमा कोरियोग्राफरको रुपमा समेत काम गर्ने अवसर पाँए, यसले कलाकारीता क्षेत्रमा थप हौँसला मिलेको छ,’’–परियार भन्छन् ।

बेनीको फ्रि स्टार डान्स ग्रुपमा आबद्ध रहेका उनले नियमित रुपमा नृत्य प्रशिक्षण दिने गरेका छन् । विभिन्न मेला महोत्सवहरुमा नृत्यकार संगै कोरियोग्राफरको रुपमा आफुलाई चिनाउँदै आएका कलाकार परियारको टोलीले धौलागिरि क्षेत्रमा हुने मेला महोत्सवमा मात्रै झण्डै चार दर्जन बढी पुरस्कार जितिसकेका छन् । प्रस्तुतीमा मौलिकता र नयाँपन दिनु कलाकार परियारको बिशेषता हो । हालै बेनीमा सम्पन्न छैटौँ म्याग्दी महोत्सवमा उनी नेतृत्वमा रहेका फ्रि स्टार डान्स ग्रुपका कलाकारहरुले प्रस्तुत गरेको एरोविक डान्सले दर्शकहरुको मन जित्न सफल भएको थियो । फरक शैलिमा अभिनय र कला कौशल सहित देखाईने उक्त नाच धौलागिरिमै पहिलो पटक बेनीमा देखाईएको हो ।

महोत्सवमा आयोजित लोक नृत्य प्रतियोगितामा समेत उनीहरु उप–बिजेता बन्न सफल भएका थिए । कलाकारीता र खेलकुदलाई संगसंगै अघि बढाएका कलाकार परियार खेलाडी र खेल प्रशिक्षक समेत हुन् । म्याग्दी तेक्वान्डो डोजाङमा प्रशिक्षकको रुपमा रहेका उनले दैनिक रुपमा तेक्वान्डो खेलाडीहरुलाई प्रशिक्षण दिँदै आएका छन् । विद्यालय उमेरदेखि नै यो खेलमा आबद्ध भएका परियारले जिल्लादेखि क्षेत्र, राष्ट्रिय हुँदै अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा समेत सामेल भैसकेका छन् ।

विभिन्न प्रतियोगिताहरुमा भाग लिएर दर्जनौँ पुरस्कार हात पारिसकेका परियार अहिले खेलाडी हूँदै प्रशिक्षकको रुपमा आफुलाई स्थापित गराउन सफल छन् । ‘‘ खेलकुदमा निरन्तरको मेहनतले अहिले प्रशिक्षकको भुमिकामा पु¥याएको छ, आफुले खेल सिकाएका खेलाडीहरु राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिएर पदक प्राप्त गर्दा सबैभन्दा खुसीको क्षण हुँदो रहेछ,’’– परियार भन्छन् ।

हालै इटहरीमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा परियारकै प्रशिक्षणमा सहभागी भएकी तेक्वान्डो खेलाडी ममता गर्वुजाले दोस्रो पदक लिन सफल भएकी थिइन् । विद्यालय उमेरमा फुटवल खेल समेत खेल्ने गरेका परियारले तेक्वान्डोबाट आफुलाई खेलाडी र प्रशिक्षकको रुपमा चिनाएका हुन् । कुशल खेलाडी र नृत्यकारको रुपमा संघर्ष गर्दै गर्दा सोही क्षेत्रमा प्रशिक्षकको रुपमा समेत अवसर पाईसकेका तथा गायन क्षेत्रमा समेत रुचि भएका परियार अहिले साँगेतिक कोसेली बजारमा ल्याउने तरखरमा छन् ।

विरलै मान्छेमा हुने बहु–प्रतिभाका धनी रहेका परियार नाच, तेक्वान्डो खेलाडी तथा प्रशिक्षक, फुटवल खेलाडी, कमेडी नृत्य एवम अभिनय, मादल बजाउने, गायन, कोरियोग्राफर लगायतको क्षेत्रमा अनुभवी र क्षमता बोकेका छन् । सानै उमेरदेखि कलाकारीता र खेलकुद क्षेत्रमा रुचि भएका परियारले विद्यालय स्तरदेखि नै थालेको निरन्तरको प्रयास, संघर्ष र लगाबले उनलाई अहिलेको उचाईमा ल्याएको हो ।

निरन्तरको प्रयासले कलाकारीता र खेलकुद क्षेत्रमा पहिचान बनाउन सफल भएका परियारको लागि अहिले पहुँचको अभाब खड्किएको छ । आफुमा रहेको क्षमताको सहि उपयोगका लागि अवसर प्राप्त गर्ने पहुँच सबैक्षेत्रबाट प्राप्त भए अझै यस क्षेत्रमा सक्रिय भएर लाग्ने उनको योजना छ ।