मल्कबाङ्ग स्वास्थ्य चौकीको भवन निर्माण सुरु

  • २३ माघ २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 2883 पटक पढिएको

म्याग्दी, २२ माघ । म्याग्दीको धौलागिरी गाउँपालिका ५ मल्कबाङ्गमा रहेको स्वास्थ्य चौकीको सुबिधा सम्पन्न भवन निर्माण सुरु भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भौगोलिक रुपमा बिकट मल्कबाङ्गमा एक करोड रुपैया भन्दा बढीको लागतमा भवन निर्माण कार्य सुरु गरेको हो । एक करोड १८ लाख रुपैयाको लागतमा मालीका भगवती निर्माण सेवाले भवन निर्माणको ठेक्का लिएको डिभिजनका ईञ्जिनियर गणेश मर्हजनले बताउनुभयो ।

गत मंसिरमा सम्झौता भएको भवन १८ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । दुई तले दश कोठे भवनमा बिरामीको उपचारका लागि शैया, औषधी भण्डारण, कर्मचारी आवास, प्रशासन, तालीम हलका लागि छुट्टा छुट्टै कक्ष रहने जनाइएको छ ।

भवनको जग खन्ने र डिपीसी गर्ने काम सुरु भएको स्थानीय बासी दलमान छन्त्यालले बताउनुभयो । सुबिधासम्पन्न भवन निर्माण हुन लागेकोमा मल्कवाङका बासिन्दा उत्साहीत भएका उहाँले बताउनुभयो ।

सडक सञ्जालबाट टाढा रहेको मल्कबाङ्गमा सुबिधा सम्पन्न भवन निर्माण भएपछि उपचार सेवामा पहुँच बढ्ने अपेक्षा गरिएको छ । हाल कच्चि भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुदै आएको छ ।

सन्तोष गौतम