होटल सोल्टीमा ओली र स्वराजबीच गोप्य वार्ता

  • १९ माघ २०७४, शुक्रबार
  • 1890 पटक पढिएको

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच होटल सोल्टीमा बिहिबार साँझ ४५ मिनेट लामो गोप्य छलफल भएको छ । जहाँ एमालेले स्वराजको सम्मानमा रात्रिभोजको आयोजना गरेको थियो । छलफलपछि  ओलीले  नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको प्रतिक्रिया दिए ।

भेटका क्रममा ओलीले आपसी हितका लागि प्राकृतिक स्रोतसाधनको उपयोग, सम्पर्क विस्तार, व्यापार, सूचना प्रविधिलगायत क्षेत्रमा भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताएका थिए । भेटमा ओलीले भारतसँग घनिष्ठतापूर्वक काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको  एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

अध्यक्ष ओलीले नेपालको लोकतान्त्रिकीकरणमा भारतले गरेको सहयोगप्रति आभार प्रकट गर्दै अब बन्ने नयाँ सरकार शान्ति र समृद्धिका निम्ति क्रियाशील रहने पनि बताएका थिए । सो अवसरमा भारतीय विदेशमन्त्री स्वराजले नेपालमा हालै सफलतापूर्वक सम्पन्न भएको निर्वाचनका लागि नेपाली जनतालाई र निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको सफलताका लागि बधाई दिएकी थिइन् ।

यस्तै निर्वाचनबाट प्राप्त स्पष्ट जनादेशले नेपालमा शान्ति र स्थिरता कायम हुने विचार व्यक्त गर्दै विदेशमन्त्री स्वराजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निर्वाचनपछि नेपाल विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको बताएकी थिइन् । अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच ४५ मिनेट गोप्य भेटवार्ता भएपछि दुवै पक्षका प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो ।

दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आएकी स्वराजसँग आजै राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पनि भेटवार्ता गरेका छन् ।
विदेशमन्त्री स्वराजले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । Source :www.ratopati.com