‘धौलागिरि गाउँपालिका केन्द्रिय विद्यूतको पहुँच बाहिर’

  • ११ माघ २०७४, बिहीबार
  • कमल खत्री
  • 1937 पटक पढिएको

म्याग्दी, ११ माघ । धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा अध्ययनरत छात्रा पवित्रा पुनलाई आजभोली साँझको समयमा घरमा अध्ययन गर्न निकै अप्ठ्यारो हुने गरेको छ । चिसो मौसम सुरु भएसंगै घरमा उज्यालोका लागि राखिएको सोलार प्यानलले प्रयाप्त शक्ति संचय गर्न छाडेपछि बत्तीको अभाबले पुनले साँझमा घरमा गर्ने गृहकार्य र अध्ययन प्रभावित बनेको हो । पुनको मात्रै समस्या होईन्, यो सिंगो मुदी गाउँका बालबालिकाको समस्या हो ।केन्द्रिय विद्युतको पहुँच नपुगेको कारण यहाँका अधिकाँश घरमा बत्ती बाल्नका लागि सोलार प्यानल राखिएका छन् । कतिपय घरमा त अझैपनि टुकीकै भरमा उज्यालोको साहारा लिनुपर्ने बाध्यता छ ।

ठुलो क्षमताको सोलार जडान गर्ने आर्थिक जोहो गर्न कठिन हुने, राखेको सोलारको हरेक बर्ष क्षमता घट्दै जाने, बिग्रीएको सामानको मर्मत गर्न नसक्नु जस्ता कारणले बत्ती बाल्नका लागि राखिएका सोलार केन्द्रिय विद्यूत नपुगेको कारण विकल्प भएपनि आम जनताको लागि भरपर्दो हुन नसकेको बुद्धि विकास माविका शिक्षक लोकराज रोकाले बताउनुभयो । ‘‘ विद्युत सेवाको पहुँच नहुँदा राज्यले दिएका सुविधाहरु उपभोग गर्नबाट समेत बन्चित भएका छौँ, विद्युत अभाबले सञ्चार सेवा समेत मजबुत छैन्, विद्यालयमा कम्युटर छन्, तर भरपर्दो उर्जा नहुँदा नियमित सञ्चालनमा समस्या छ,’’– शिक्षक रोकाले भन्नुभयो । उहाँका अनुसार, सौर्य उर्जा मार्फत कम्युटर सञ्चालन गर्ने गरि विद्यालयमा कक्षा ६ देखि ८ सम्म ऐच्छीक विषयको रुपमा कम्प्युटर शिक्षा राखिएको भएपनि सोलारले प्रयाप्त उर्जा दिन नसकेको कारण प्रभाबकारी बनेको छैन् ।

केन्द्रिय विद्यूत नपुगेको कारण गाउँमा सबैले आफ्नै घरमा मोवाईल चार्ज गर्न समेत सुविधा छैन् भने टेलिभिजन, इन्टरनेट लगायतको आधुनिक सुचना प्रविधिको पहुँचबाट टाढै बस्नुपर्ने अधिकाँशको बाध्यता बनेको छ । विद्युत अभाबले स्थानीय स्वास्थ्य चौकीमा राख्ने खोपहरु समेत सुरक्षित तवरले राख्न समस्या हुने गरेको शिक्षक रोकाले बताउनुभयो । यस वडाको मुदी, बगरा र नेरबाङमा उज्यालोका लागि हरेक घरजसोमा सोलार राखिएका छन भने खिवाङ गाउँमा भने लघुजलविद्यूत परियोजना मार्फत स्थानीयले विद्यूत सुविधा उपभोग गर्दै आएका छन् । मुदीमा मात्रै होईन ७ वटा वटा रहेको धौलागिरि गाउँपालिकाको कुनै पनि वडामा केन्द्रिय विद्यूतको पहुँच पुगेको छैन् । सिंगो गाउँपालिकामा केन्द्रिय विद्युतको पहुँच नपुग्दा सोलार र लघुजलविद्यूत परियोजनाहरु स्थानीयबासीको उज्यालोको स्रोत बनेका हुन् ।

कादुरी र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र लगायतका विभिन्न संघ संस्था र समुदायको लगानीमा निर्मित लघुजलविद्यूत आयोजनाहरु नियमित सञ्चालन भएका ठाउँका स्थानीयबासी सस्तो दरमा लोडसेडिङ रहित विद्यूत सेवा उपभोग गर्न पाउँदा खुसी छन् । तर कतिपय ठाउँका लघु जलविद्यूत आयोजनाहरु बाढी र पहिरोको चपेटामा परेपछि ती आयोजनाका उपभोक्ताहरु भने समस्यामा परेका छन् । अहिले धौलागिरि गाउँपालिकाको वडा नम्बर १ गुर्जा र वडा नम्बर ५ मल्कबाङ र वडा नम्बर ६ मराङमा लद्युजलविद्यूत परियोजना मार्फत स्थानीयले विद्युत उपभोग गरिरहेका छन् ।

वडा नम्बर २ लुलाङमा रहेको लघुजलविद्यूत परियोजनामा बाढीले क्षती पु¥याएपछि लामो समयदेखि स्थानीयबासी अन्धकारमा बस्न बाध्य छन् । वडा नम्बर ३ मुनामा लघुजलविद्यूत परियोजना रहेपनि बाढी, पहिरोको क्षतीको कारण उत्पादन भरपर्दो बन्न सकेको छैन् । त्यस्तै वडा नम्बर ७ ताकम, धारापानी लगायतको क्षेत्रमा अहिले स्थानीयले सोलारलाई नै बत्ती बाल्ने स्रोतको रुपमा प्रयोग गर्दै आएका छन् ।
केन्द्रिय विद्यूतको अभाबमा स्थानीयबासीले सोलार र लघुजलविद्यूत परियोजनाबाट बत्ती बाल्ने गरेको भएपनि बैकल्पीक उर्जाका यस्ता स्रोतहरु दिगो, भरपर्दो र सबैको पहुँचमा नहुँदा समस्या सृजना भएको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

स्थानीय स्तरमा बक्ति बाल्नको लागि मात्रै नभएर फर्निचर, कुटानी पिसानी मिल लगायतका घरेलु उद्योग सञ्चालन र सञ्चार क्षेत्रको पहुँच विस्तारको लागि समेत केन्द्रिय विद्यूतको अति आबश्यक रहेको उहाँको भनाई छ । विद्यूतसंगै ईन्टरनेट, टेलिफोन लगायतको सहज पहूँच नभएको कारण धौलागिरि गाउँपालिकाले मुना स्थित कार्यालयबाटै नियमित सेवा सञ्चालन गर्न समेत सकेको छैन् । सर्वसाधारणको सहजताको लागि गाउँपालिकाले अहिले बेनीमा सम्पर्क कार्यालय मार्फत सेवा दिँदै आएको छ । विद्यूतकै अभाबले गाउँपालिकामा विक्तिय संस्थाको पहुँच विस्तारमा समेत ढिलाई भएको छ । यता विद्यूत प्राधिकरण बेनी वितरण केन्द्रले भने धौलागिरि गाउँपालिकाको धारापानी हुँदै, ताकम, मुना लगायतको क्षेत्रमा केन्द्रिय विद्यूतको पहुँच विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ ।

प्राधिकरणले धारापानीमा विद्यूतको पहुँच विस्तारको लागि मुख्य लाइन सहित शाखा पोल विस्तार गरि ट्रान्सफरमर समेत पु¥याईसकेको छ ।‘‘ धारापानीसम्म विद्यूत प्राधिकरणले केन्द्रिय विद्यूत विस्तार गरेपछि त्यहाँदेखि माथिको लागि गाउँपालिकाले समेत पहल थालेको छौँ । ‘‘यो बर्ष ताकममा विद्यूतीकरणको लागि रु ४० लाख बजेट गाउँपालिकाले विनियोजन गरेको छ , प्राधिकरणले के–कति बजेट विनियोजन गरेको छ अझै टुंगो लाग्न सकेको छैन्,’’–उपाध्यक्ष छन्त्यालले भन्नुभयो । धारापानी हुँदै, ताकम, मुना लगायतको क्षेत्रमा केन्द्रिय विद्यूतको पहुँच विस्तार गर्ने योजना अनुसार ताकम सम्म मुख्य लाईनको पोल पु¥याईसकिएको छ ।

धारापानीमा यसै बर्ष मुख्य लाइनको काम सकेर विजुली बत्ती बाल्ने गरि काम अघि बढाएको नेपाल विद्यूत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानले बताउनुभयो । उनले धारापानीदेखि–ताकम हुँदै मुनासम्मको लागि मुख्य लाईन विस्तारको योजना समेत अघि बढेको जानकारी दिए । यो बर्ष जिल्लामा ग्रामीण विद्यूत विस्तार र अधुरा योजना सम्पन्न गर्नका लागि रु २ करोड २५ लाख बजेट विनियोजन भएर आएको उनले बताए । प्राधिकरणले यस बर्ष बिम, पाखापानी, बेगखोला, रुम, देविस्थान, निस्कोट, अर्मन, दरबाङ, दग्नाम, ओखरबोटमा गत बर्षका अधुरा योजनालाई सम्पन्न गर्दै बिमदेखि मराङतर्फ र धारापानीदेखि ताकम तर्फ मुख्य विद्यूत लाईन विस्तार गर्ने जनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l