अभिभावकको निगरानीमा रहेका विद्यार्थी शैक्षिक र अतिरिक्त गतिविधिमा अब्बल

  • ११ माघ २०७४, बिहीबार
  • 1619 पटक पढिएको

म्याग्दी, ११ माघ । म्याग्दी जिल्लामा सञ्चालित प्रारम्भिक सिकाई र पढाई परियोजनाले शैक्षिक गुणस्तर बृद्धिमा सघाएको सरोकारावाला निकायले बताएका छन् । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजिडिएफ)ले ब्यवस्थापनमा सञ्चालित परियोजना अनुगमनको क्रममा विद्यार्थीको सिकाई उपलब्धमा निकै सुधार आएको बताएका थिए ।

सरकारले उपलब्ध गराएका पाठ्यक्रममा मात्रै निर्भर रहेका बालविकास देखी ३ कक्षासम्म अध्ययरत विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रम मार्फत विद्यालयको भौतिक पूर्वाधार,अभिभावक शिक्षा, शैक्षिक साम्रागी, विद्यार्थी केन्द्रित शिक्षण सिकाई लगाएतका गतिविधिले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन महत्वपूर्ण भूमिका खेलेको म्याग्दीका जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले बालविकास देखी कक्षा ३ सम्मको कक्षा कोठा ब्यवस्थापन, भित्तेलेखन, कमजोर विद्यार्थीलाई लक्षित गरी सञ्चालित अतिरिक्त कक्षाले सामुदायिक विद्यालयको शैक्षिक उपलब्धीमा सघाएको बताउँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।सोही अवसरमा बागलुङका जिल्ला शिक्षा अधिकारी गुरूप्रसाद पौडेलले विद्यालयभित्र अभिभावकलाई लक्षित गरी सञ्चालन गरिएको कक्षा मार्फत अभिभावकलाई दिइएको ज्ञानले पहिलो विद्यालय घर र पहिलो शिक्षक अभिभावक भएको भनाईलाई पुष्टी भएको बतानुभयो ।उहाँले अभिभाव मार्फत आफ्ना छोराछोरीलाई रचनात्मक सन्देश प्रवाह भइरहेको पाइएको बताउनुभयो ।

अनुगमनका क्रममा मंगला गाउँपालिका–१ कुहुँमा अवस्थित जनआवाज र नरसिंह आधारभुत विद्यालयका अभिभावकले गर्भमा रहेको बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्व देखी पढाईमा सघाउन छोराछोरीको साथी बनेर पढाईसंगै हस्तकला, चित्र लगाएतका साम्रागीहरू समेत बनाउने गरिएको बताएका थिए । अभिभावकले ३० दिनसम्म सञ्चालन हुने कक्षामा छोराछोरीलाई सत्कार सिकाउने गरिएको बताउँदै कार्यक्रम उपयोगी भएकाले थप निरन्तरतामा जोड दिएका थिए।

अनुगमकै क्रममा मंगला गापा–२ बावियाचौर सिमलचौरको प्रभात आधारभुत विद्यालय र बेनी नगरपालिका–४ तातोपानीमा रहेको सरस्वती माविमा आयोजित अन्तरक्रिया कार्यक्रममा परियोजना मार्फत प्रयोग गरिएका सीपले दिर्घकालिन फाईदा पुगेको बताएका थिए । दुईदिने अनुगमनको क्रममा जिल्ला शिक्षा कार्यालय बागलुङका विद्यालय निरिक्षक प्रकाशबन्धु अर्याल, मंगला श्रोतकेन्द्रका श्रोतब्यक्ति डेक बहादुर बानियाँ, धौलागिरी मावि स्रोतकेन्द्रका श्रोतब्यक्ति केशवप्रसाद रेग्मी, प्लान नेपालकी परियोजना अधिकृत जानुका घिमिरे, लैङ्गिक समावेशी अधिकृत कमला उप्रेती, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजिडिएफ)का उपाध्यक्ष मन बहादुर पुन, कार्यक्रम संयोजक नविन पन्त, लाल बहादुर पुर्जा लगाएतको उपस्थिती रहेको थियो ।

परियोजना लागु भएको विद्यालयमा कक्षा कोठा मर्मत, भित्तेलेखन, शैक्षिक साम्रागी सहित एक विद्यालयमा करिव ७ लाख बराबरको सहयोग उपलब्ध हुन्छ । एकदशक देखी म्याग्दीको शैक्षिक क्षेत्रमा सक्रिय रहेको बागलुङको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनले विद्यालय पुस्तकालय कार्यक्रम बाहेक प्रारम्भिक सिकाई र पढाई परियोजना बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका २५ वटा विद्यालयमा सञ्चालन गरिरहेको छ ।