म्याग्दीमा पशु विकासको करिब साढे दुई करोड बजेट अन्यत्र बिनियोजन

  • ७ माघ २०७४, आईतवार
  • सन्तोष गौतम
  • 2146 पटक पढिएको

बेनी ७ माघ । म्याग्दीमा पशु विकासका लागि पशुपंक्षि विकास मन्त्रालयले पठाएको करिब साढे दुई करोड रुपैया बजेट स्थानीय तहहरुले अन्यत्र बिनियोजन गरेका छन् ।जिल्ला पशु सेवा कार्यालयले आईतबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि पशु सेवा र स्वास्थ्य प्राबिधिकहरुले स्थानीय तहले पर्याप्त बजेट बिनियोजन नगर्दा काम गर्न नसकिएको गुनासो गरेका छन् ।

पशु सेवा कार्यालयका अनुसार मन्त्रालयले म्याग्दीका छ वटा स्थानीय तहलाई पशुपंक्षी विकासको योजना तथा कार्यक्रमका लागि तिन करोड ९२ लाख रुपैया पठाएको थियो । तर योजना तर्जुमा र बजेट बिनियोजनका क्रममा समन्वय हुन नसक्दा दुई करोड ४२ लाख रुपैया बजेट सडक, भवन, खानेपानी, विद्युत जस्ता पूर्वाधार योजनामा बिनियोजन भएको पशु सेवा कार्यालयले जनाएको छ । बेनी नगरपालीका, धौलागिरी, मालीका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालीकाले पशुपंक्षि विकासका लागि एक करोड ५० लाख रुपैयाको बजेट स्विकृत गरेको पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीले बताउनुभयो ।

सो कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय, स्थानीय तहका पशु सेवा शाखा र एक गाउँ एक प्राबिधिकहरुबीच स्थानीय तहमा सञ्चालीत पशु विकास कार्यक्रम, रानीखेत र पिपीआर रोग नियन्त्रणका लागि भएका पहलको विषयमा छलफल भएको थियो । कुखुरामा देखिने रानीखेत र पशुहरुमा देखिने पिपीआर रोग नियन्त्रणका लागि खोप अभियान चलाउन पहल गर्नुपर्ने सहभागीको भनाई थियो । बरिष्ठ पशु चिकित्सक डाक्टर मनबहादुर पुन र पशु चिकित्सक जिवन आचार्यले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । पशु सेवा प्राबिधिक डिल्लीराम रेग्मीले सञ्चालन गर्नुभएको कार्यक्रममा पशु विकास अधिकृत नरबहादुर बानियाले स्वागत गर्नुभएको थियो ।

 

 

सन्तोष गौतम