जिल्ला र स्थानीय तहमा शिक्षा समितिको गठन गर्न माग

  • ७ माघ २०७४, आईतवार
  • 1831 पटक पढिएको

बेनी ७ माघ । एकीकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीले जिल्ला र स्थानीय तहमा शिक्षा समिति गठन गर्नुपर्ने माग गर्दै आईतबार जिल्ला शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष हुमनाथ पाण्डे नेतृत्वको टोलीले जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठलाई म्याग्दीको शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि १९ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा समावेशी र सर्वपक्षीय प्रतिनिधित्व हुनेगरी जिल्ला, गाउँ र नगर शिक्षा समितिलाई पूर्णता दिनुपर्ने, विद्यार्थी विवरणको आधारमा शिक्षक दरबन्दि मिलान गर्नुपर्ने, नगर तथा गाउँपालीकामा शिक्षा निती निर्माणका क्रममा सबै संगठनहरुलाई छलफलमा सहभागी बनाउनुपर्ने, स्थानीय तहले शैक्षिक परिणामका आधारमा विद्यार्थी, विद्यालय र शिक्षकलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी स्थानीय तहबाट शिक्षक तलबभत्ता स्थानीय स्तरमा शाखा भएको बैङ्कबाट समयमै निकासा हुनुपर्ने, शिक्षकको आन्तरीक परिक्षा गर्नुपर्ने, करार शिक्षक भर्ना, सरुवा र बढुवालाई व्यवस्थित बनाउनुपर्ने लगायतका माग गरिएको छ । बिना अनुमती र नियम विपरीत सञ्चालित कोचीङ सेन्टर र होस्टेलहरुलाई नियमन गर्न पनी संगठनले माग गरेको छ । जिशिअ श्रेष्ठले जिल्ला स्तरमा शैक्षिक सुधारका लागि सबै क्षेत्र र पक्षको भावनालाई समेटेर पहल तथा स्थानीय तहसंग समन्वय गरिने बताउनुभयो ।