स्थानीय तह स्तरीय भलिबलको पुरुष महिला दुबैतर्फ मंगला गाउँपालिका बिजयी (फोटो फिचर)

बास्केटबलमा बेनपाले उपाधी चुम्यो

  • ७ माघ २०७४, आईतवार
  • कमल खत्री
  • 3675 पटक पढिएको

म्याग्दी, ७ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय भलिबल प्रतियोगितामा पुरुष र महिला दुबै तर्फ मंगला गाउँपालिका बिजयी भएको छ । खुलामञ्चमा आज भएको फाईनल खेलमा पुरुष भलिबलतर्फ बेनी नगरपालिकासंग भएको प्रतिस्पर्धामा सोझो तीन सेट नै आफ्नो पक्षमा पार्दै मंगला गाउँपालिका बिजयी भएको हो ।

नेपाल प्रहरीको राष्ट्रिय टिममा आबद्ध मंगला गाउँपालिका निवासी राशु शेरचनको कप्टानीमा रहेको मंगलाको टिमले बेनी नगरपालिकाका अनुभवी खेलाडीहरुलाई प्रतिस्पर्धात्मक खेलमा रोमाञ्चक जित निकालेका हुन् ।

त्यसैगरि महिला भलिबलको फाईनलमा रघुगंगा गाउँपालिकालाई पराजीत गर्दै मंगला गाउँपालीका नै बिजयी भएको छ । क्षेत्रीय खेलाडी रेविना घर्तिको कप्तानीमा रहेको मंगलाले चर्चित खेलाडी पवित्रा विसीको उत्कृष्ट खेल प्रदर्शन सहित सोझो तीन सेट नै आफ्नो पक्षमा पार्न सफल भएको थियो । महिला भलिबलमा ६ र पुरुष भलिबलमा १० वटा स्थानीय तहले सहभागीता जनाएका थिए ।

पुरुष भलिबलको बिजेता मंगलालाई ७७ हजार ७७७ , उपबिजेता बेनी नगरपालिकाका खेलाडीहरुलाई ४४ हजार ४४४ को साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि महिला भलिबलमा बिजेता मंगलालाई ४४ हजार ४४४, र उपबिजेता रघुगंगा गाउँपालिकाका खेलाडीहरुलाई २२ हजार २२२ को साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

त्यसैगरि महोत्सवकै अवसरमा आयोजित पुरुष बास्केटबल प्रतियोगितामा बेनी नगरपालिका बिजयी भएको छ । कालीपुल खेलमैदानमा भएको प्रतिस्पर्धामा अन्नपूर्ण गाउँपालीकालाई तिन पोईन्टले पराजित गर्दै बेनपाले बास्केटबलको उपाधि जितेको हो । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजना र कालीपुल युनाईटेडको संयोजनमा लिग प्रणालीमा खेलाईएको बास्केटबल प्रतियोगितामा १० टिमले सहभागीता जनाएका थिए ।

बास्केटबलको बिजेता बेनपा र उपबिजेता अन्नपूर्णका खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र सहित क्रमश : नगद ३३ हजार ३३३ र २२ हजार २२२ रुपैया प्रदान गरिएको छ । पुरुष भलिबल प्रतियोगितामा मोदी गाउँपालिका पर्वत र महिला भलिबल प्रतियोगितामा रघुगंगा र धौलागिरि गाउँपालिकाको टिमलाई अनुशासित टिमको रुपमा नगद सहित सम्मान गरिएको थियो ।

पुरुषतर्फ मंगलाका टिम क्याप्टेन राजु शेरचनले उत्कृष्ट खेलाडी र स्पाइकरको पुरस्कार हात पार्दा बेनपाका सुजन चोखाल उत्कृष्ट सेटर र सन्दीप रामदामले उत्कृष्ट ब्लकरको रुपमा पुरस्कार हात पारेका थिए । त्यसैगरि महिला भलिबमा उत्कृष्ट खेलाडीमा रघुगंगाकी विनिता पाईजा, उत्कृष्ट ब्लकर र स्पाइकरमा मंगलाकी पवित्रा विसी, उत्कृष्ट सटरमा मंगलाकै विना बुढाथोकीले पुरस्कार हात पारेका थिए ।

बिजेता खेलाडीहरुलाई प्रतिनिधि सभाका साँसद भुपेन्द्रबहादुर थापा, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, प्रथम उपाध्यक्ष सुविन कुमार श्रेष्ठ, महासचिब लिलाराम गौतम, खेलकुद संयोजक सुमन श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, जिल्ला भलिबल संघका अध्यक्ष रमेशकुमार श्रेष्ठ, स्थानीय तहका जनप्रतिनिधि, प्रतियोगिताका प्रायोजक संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

सो अवसरमा भलिबल खेल मार्फत राष्ट्रिय रुपमा पहिचान बनाउन सफल म्याग्देली राष्ट्रिय खेलाडी मिलन मल्ल, गोविन चोचाङ्गी, राजु शेरचन, पवित्रा विसी, रेविना घर्ति लगायतले सम्मान समेत गरिएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l