‘महिलाले गर्ने श्रमलाई पूँजिमा रुपान्तरण गर्न उद्यमशिलता आवश्यक’

  • ६ माघ २०७४, शनिबार
  • 1487 पटक पढिएको

बागलुङ, ६ माघ ।  महिलाहरुलाई समाज रुपान्तरणका क्षेत्रमा क्रियाशिल बनाउनका लागि आर्थिकसंगै नेतृत्व विकासमा सहभागी गराउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।   परिवर्तनका लागि महिला सञ्जाल सिगानाले बानपा ८ वडा कार्यालयको सहयोगमा सञ्चालन गरेको तिन दिने उद्यमशिलता तथा नेतृत्व विकास तालिमका सहभागी महिलाहरुले यस्तो बताएका हुन् ।

उनीहरुले महिलाहरु क्षमता नभएर नभई अवसरबाट वञ्चित भएका कारण पछि परेको भन्दै नेतृत्वसंगै आर्थिक स्रोतमा पहुँच बढाउनका लागि उद्यमशिलताको विकास गर्नु पर्नेमा जोड दिए  ।   गाउँ घरमा महिलाहरुले धेरै श्रम गर्दै आएका छन्, श्रमको सम्मान र उचित सल्लाह सुझाव र समन्वय भएमा महिलाहरुले गर्ने श्रमलाई पूँजिमा रुपान्तरण गर्न सकिने भन्दै महिलाहरुले त्यसका लागि राज्य तथा अन्य क्षेत्रको भूमिका प्रभावकारी र सहयोगी हुनु पर्ने बताएका छन् ।

तालिम समापन कार्यक्रममा बानपा–८ का वडा अध्यक्ष जीतबहादुर जिसी ‘राजन’ले समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणको अभियानमा समान सहभागि हुने गरी नेतृत्व र क्षमता विकास गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले वडा कार्यालयको तर्फबाट महिलाहरुको नेतृत्व विकास र आयआर्जनमा सहयोग हुने खालका कार्यक्रम बनाएर अगाडि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा तालिमका प्रशिक्षक राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले स्थानीय स्तरमा रहेका स्रोत र साधनको अधिकतम उपयोगिता मार्फत आयआर्जन गरी समुन्नत समाज निर्माणमा महिलाहरुको भूमिका प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले बानपा–८ का अध्यक्ष सुरेश मल्ल, सहभागीहरु माया खड्का, कमला कार्की लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।   साविक सिगाना गाविसका सबै वडाका ४८ जना महिलाहरुको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बैकंका केन्द्रिय सञ्चालक रामबहादुर जिसीले नेतृत्व विकास र उद्यमशिलता तथा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले उद्घोषणकला र नेतृत्व विकास विषयमा सहजीकरण गर्नु भएको थियो ।

समापन कार्यक्रम परिवर्तनका लागि महिला सञ्जाल सिगानाका अध्यक्ष चित्रकला खड्काको अध्यक्षता र सचिव टिका खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । सञ्जालले महिलाहरुलाई आर्थिक लगायत सामाजिक अभियानमा अग्रसर गराउने विभिन्न क्रियाकलाप सञ्चालन गर्र्दै आइरहेको अध्यक्ष खड्काले बताउनुभयो ।