तातोपानीमा नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण

  • ६ माघ २०७४, शनिबार
  • 1685 पटक पढिएको

म्याग्दी, ६ माघ । बेनी नगरपालिका–४ तातोपानीका बासिन्दाले नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण गरेका छन् । उपल्लो तातोपानीका बासिन्दा म्याग्दी नदीको किनारमा ३२ मिटर पक्की पर्खाल निर्माण गरेका हुन् । बजारलाई नदी कटानबाट जोगाउनका लागि नौ मिटर अग्लो पर्खाल निर्माण गरिएको स्थानीय कुमार केसीले जानकारी दिनुभयो ।

तातोपानी युवा क्लबको निर्माणाधीन खेलमैदान क्षेत्रमा पक्की पर्खाल निर्माणका लागि रु पाँच लाख खर्च भएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले दुई लाख र तातोपानी युवा क्लबले रु ८० हजार नदी नियन्त्रण योजनाका लागि सहयोग गरेको छ ।

स्थानीय बासिन्दाले रु दुई लाख २० हजार बराबरको श्रमदान गरेर पर्खाल बनाएका हुन् । कुण्ड र क्लबको पैसाले निर्माण सामग्री खरिद गरेका तातोपानीवासीले ढुंगा संकलन र पर्खाल निर्माणमा श्रमदान गरेका थियो ।

नदी कटानबाट उच्च जोखिममा परेका तातोपानी बजार संरक्षणका लागि बेनी नगरपालिका वडा कार्यालयको सहयोगमा थप पर्खाल निर्माणको तयारी भएको छ । खेलमैदान निर्माण योजनाअन्तर्गत पर्खाल निर्माण गर्न लागिएको केसीले बताउनुभयो ।