मराङको आर्वाङमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना

  • ६ माघ २०७४, शनिबार
  • सन्तोष गौतम
  • 2073 पटक पढिएको

म्याग्दी ६ माघ । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङको आर्वाङमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना भएको छ ।भौगोलिक बिकटताका कारण वडामा रहेको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य उपचार सेवा प्राप्त गर्नबाट असुबिधा भोग्दै आएका आर्वाङका बासिन्दाको सुबिधाका लागि गाउँपालीकाको पहलमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना भएको हो ।

अर्वाङ स्थित गाउँघर किल्नीकको भवनमा स्थापना भएको सामुदायीक स्वास्थ्य ईकाईको शुक्रबार धौलागिरी गाउँपालीकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले दुर्गम क्षेत्रका बासिन्दाले गाउँमै सहज र सर्वसुलभ रुपमा स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य ईकाई स्थापना गरीएको बताउनुभयो ।

स्वास्थ्य ईकाई सञ्चालनका लागि गाउँपालीकाले एक जना अहेवको व्यवस्था गरेको छ भने जिल्ला स्वास्थ्य कार्यालयले निशूल्क वितरण हुने औषधी र उपचार सहयोगी सामाग्री सहयोग गरेको छ । सामुदायीक स्वास्थ्य ईकाईबाट साविक मराङ गाविसको ६ र ७ नम्बर वडाको १२० घरधुरीमा बसोबास गर्ने करिब आठ सय जनसंख्या लाभान्वित भएको वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो ।

यसअघि आर्वाङका बासिन्दाहरु सामान्य बिरामी पर्दा दुई घण्टा भन्दा बढी पैदल हिडेर मराङमा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए । ईकाईबाट स्वास्थ्य परिक्षण, निशूल्क औषधी वितरण र परामर्श सेवा दिइने भएको छ । स्थानीय बासिन्दा खुसीले गद्गद भएका छन् ।

 

 

सन्तोष गौतम