सिफ्फो टु परियोजनाले किन खर्च लुकायो ?

  • ४ माघ २०७४, बिहीबार
  • 2272 पटक पढिएको


म्याग्दी ४ माघ । म्याग्दीमा तिन वर्षदेखि लागू भएको परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सि.आई.एफ.ओ.टु) नामक परियोजनाले बजेट र खर्च लुकाएको छ ।


परिवार नियोजन सेवामा सर्वसाधारणको पहुँच वृद्धी गर्ने उद्देश्यले अमेरीकी दातृ निकाय युएसआईडीको सहयोगमा सञ्चालन भएको परियोजनाले जिल्लामा प्राप्त र खर्च भएको बजेटको बारेमा जानकारी माग्दा सार्वजनीक गर्न अस्वीकार गरेको हो ।
परियोजनाका जिल्ला संयोजक डाक्टर मिलन पौडेलले बजेट र खर्चको बारेमा आफूलाई जानकारी नभएको र सार्वजनीक गर्न नमिल्ले बताउनुभयो । परियोजनाले बिहीबार बेनीमा आयोजना गरेको कार्यक्रममा सहभागी पत्रकारहरुले बजेट र खर्चको बारेमा जिज्ञाशा राखेका थिए ।


कार्यक्रममा सहभागी पत्रकार घनश्याम खड्काले जिम्मेवार कर्मचारीले बजेट र खर्च विवरण माग्दा लुकाउन खोज्नुमा अपारदर्शीता र अनियमितको शंका उत्पन्न गराएको बताउनुभयो । उक्त परियोजनाको अधिकांश कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयले सञ्चालन गर्ने कार्यक्रमसंग मेल खाने भएकाले डुब्लीकेशन र मिलेमतोमा बजेटको दुरुपयोग भएको आरोप लाग्दै आएको छ ।

जिल्ला समन्वय समिति, स्थानीय तह लगायत सरोकारवालासंग समन्वय नगरिकन स्वास्थ्य कार्यालयका सिमित कर्मचारीलाई प्रभावमा पारेर कार्यक्रम गर्दै आएको स्वास्थ्य कार्यालयका कर्मचारीहरुले बताएका छन् । सन २०१५ देखि २०१९ सम्म म्याग्दीमा लागू भएको कार्यक्रमले परिवार नियोजनको अस्थाई साधनको प्रयोग बृद्धी र स्थाई परिवार नियोजन गर्न स्वास्थ्य कार्यालय, अस्पताल र स्वास्थ्य संस्थाहरुसंग मिलेर परिवार नियोजन शिवीर, सडक नाटक, अन्तरक्रिया, गोष्ठि, बैठक जस्ता कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रम संयोजक पौडेलले काम गरेको आधारमा माथिल्लो निकायले बजेट उपलब्ध गराउने, अघिल्लो वर्षको खर्चको विवरण र आवश्यक कागजात नभएकाले खर्चको बारेमा जानकारी गराउन नसक्ने बताउनुभयो । पौडेलले गत वर्ष म्याग्दीमा ५४ लाख रुपैया बजेट प्राप्त भएको बताएपनी के काममा कसरी कति रकम खर्च भयो भन्ने बारेमा जानकारी दिन मान्नुभएन् ।

विभिन्न स्वास्थ्य संस्थामा कार्यक्रमको सहयोगमा आयोजित परिवार नियोजन शिवीरमा ५९ जनाले भ्यासेक्टोमी, २५ जनाले मिनील्याप र २ जनाले ईम्पलान्ट गरेको परियोजनाले बिहीबार बेनीमा आयोजना गरेको कार्यक्रममा जानकारी गराइएको थियो । यसैगरी २९ वटा स्वास्थ्य संस्थालाई परिवार नियोजनका लागि आवश्यक औजार, उपकरण सहयोग र ८० जना स्वास्थ्यकर्मीलाई तालीम दिइएको पौडेलले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले कुनै पनी कार्यालय, संघ संस्था, परियोजनाले बजेट र खर्च लुकाउन नमिल्ने बताउनुभयो । उहाँले बजेट र खर्च सार्वजनीक गर्न सम्बद्ध कर्मचारीहरुलाई कार्यक्रममै निर्देशन दिनुभयो ।
जिल्ला अस्पतालका डाक्टर अम्बालीका शाक्यको अध्यक्षता, कार्यक्रमकी कर्मचारी सुमित्रा पौडेलको सञ्चालन र रिता बुढाथोकीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा परियोजनाका शिव पाण्डेले बजेट र खर्चको बारेमा आफूलाई जानकारी नभएको बताउनुभयो ।