आदर्श सञ्चार सहकारीको समृद्धिका लागि उद्यमशिलता अभियान

जिरेदीका महिलाहरुलाई प्याड बनाउने तालिम

  • ३ माघ २०७४, बुधबार
  • 1983 पटक पढिएको

बागलुङ, २ माघ । स्थानीय स्रोत र साधनको उपयोगमा वृद्धि गरी महिलाहरुलाई आयआर्जनतर्फ अग्रसर गराउने तथा उनीहरुको स्वास्थ्यमा सुधार ल्याउने उदेश्यका साथ काठेखोला गाउँपालिका वडा नं. ७ रेश जिरेदीमा एक दिने प्याड बनाउने तालिम सम्पन्न भएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको समृद्धिका लागि उद्यमशिलता अभियान अन्तरगत मंगलवार रेश जिरेदीमा रहेको भैरव आमा समुहमा आवद्ध महिलाहरुलाई प्याड बनाउने तालिम दिइएको हो ।

महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने प्याड घरमै बनाएर प्रयोग गर्न र खर्च कटौती गरी बचत गर्ने बानी बसाल्न तालिम दिइएको संंस्थाले जनाएको छ ।   घरमा खेर गैरहेका कपडाबाट प्याड बनाउन सकिने र उक्त प्याड स्वास्थ्यका हिसावले लाभदायी तथा कम खर्चिलो हुने भएकाले यो तालिम महिलाहरुका लागि प्रभावकारी हुने भएकाले संस्थाले विगत ३ वर्षदेखि यो तालिम सञ्चालन गर्दै आएको छ ।   तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरेर आयआर्जनमा वृद्धि गरी वचत गर्नका लागि सहज हुने भएकाले यो तालिम महिलाहरुका लागि उपयोगी भएको सहभागीहरुले बताएका छन् ।

महिनावारी भएको समयमा महिलाहरुले बजारबाट खरिद गरेको प्याड बढी प्रयोग गर्दा दिर्घकालमा स्वास्थमा असर पर्न सक्ने भन्दै कपडाको प्याड प्रयोग गर्ने बानीको विकास गराउनमा महिलाहरुलाई प्याड बनाउने तालिमको आयोजना गरिएको संस्थाले जनाएको छ । भैरव आमा समुहका २५ जना महिलाहरुको सहभागिता रहेको तालिममा आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीले सहजीकरण गर्नुभएको थियो ।

जिल्ला सहकारी संघ बागलुङका कोषाध्यक्ष समेत रहेकी जिसीले तालिमले परनिर्भरतालाई हटाएर आत्मनिर्भर बन्नका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोग मार्फत खर्च कटौती गरी वचतमा वृद्धि गर्नका लागि मद्दत पुग्ने बताउनुभयो । उहाँले खाने, लाउने देखि मनोरञ्जनका लागि आवश्यक अधिकांश वस्तु बाहिरबाटै खरिद गर्ने प्रचलनका कारण महिलाहरुसंग रहेको पैसा बाहिर जानुका साथै स्वास्थ्यमा समेत समस्या हुने भएकाले स्थानीय स्रोतको अधिकतम परिचालनमा जोड दिनुभयो ।

कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. ७ का वडा सदस्य कृष्णबहादुर थापाले खेर गैरहेका वस्तुहरुको पहिचान गरी तिनको प्रयोगबाट आयआर्जन वृद्धि गर्ने खालका कार्यक्रम सञ्चालनका लागि सबैको ध्यान जानु पर्नेमा जोड दिनुभयो । गाउँघरमा कृषि पेशा गर्नेहरुले समेत धेरै जसो चीज खरिद गरेर खाने र प्रयोग गर्ने अवस्थाको अन्त्यका लागि यस्ता खाले तालिम उपयोगी हुने उहाँको भनाइ थियो ।

कार्यक्रम भैरव आमा समुहका अध्यक्ष सीता कार्कीको अध्यक्षता, उपाध्यक्ष निर्मला कार्कीको स्वागत र सचिव चेली थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।   आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले सूचना तथा सञ्चारसंगै वचत तथा ऋण लगायत सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

संस्थाको एघारौ वार्षिक साधारणसभाले समृद्धिका लागि उद्यमशिलता अभियान लगायतका एक दर्जन भन्दा बढी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ । स्थानीय तहसंग समन्वय गरेर समाजको आर्थिक विकास र सामाजिक रुपान्तरणका कार्यक्रम सञ्चालनल गरिने संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिनुभयो ।