म्याग्दी महोत्सव : तस्वीर प्रदर्शनीमा दर्शकको आकर्षण बढ्यो (फोटो फिचर)

  • १ माघ २०७४, सोमबार
  • कमल खत्री
  • 2638 पटक पढिएको

 

म्याग्दी, १ माघ । म्याग्दी महोत्सवमा जारी तस्बिर प्रदर्शनीले अवलोकनकर्तालाई आकर्षित गरेको छ । म्याग्दीको ५० बर्ष पुराना तस्बिरहरु समेत प्रदर्शनीमा राखिएपछि महोत्सव अवलोकन गर्न आउनेहरुलाई त्यसतर्फ ध्यान केन्द्रित गरेको हो । म्याग्दी जिल्लाका सबै स्थानीय तहका पर्यटकीय क्षेत्रहरुलाई समेटीएको तस्बिर प्रदर्शनीमा म्याग्दीको सम्भावनाबारे बृत्तचित्र समेत प्रदर्शन गरिएपछि अवलोकनकर्ताहरुको आकर्षण बढेको हो ।

महोत्सवको सुरुवातका दुई दिन निशुल्क अवलोकनको व्यवस्था गरिएपनि अहिले प्रतिव्यक्ति रु १० रुपैयाँ टिकट काटेर तस्वीर प्रदर्शनी र बृत्तचित्र अवलोकन गर्ने व्यवस्था गरिएको तस्बीर पदर्शनीका संयोजक भोज बहादुर रिजालले बताउनुभयो । उहाँका अनुसार, तस्बिर अवलोकनबाट लिईने रु १० शुल्कबाट संकलन हुने रकमलाई कालिपुलमा निर्माण गर्न लागिएको सुचना केन्द्रको व्यवस्थापनमा परिचालन गरिनेछ ।

प्रदर्शनीमा म्याग्दीको बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका र धौलागिरि गाउँपालिकाको पर्यटकीय ठाउँ, मनोरम प्राकृतिक दृष्य, कृषि, घरेलु उत्पादन सहित मौलिक जनजिवन झल्कने आकर्षक तस्बिरहरु समेत प्रदर्शनीमा छन् । क्रियाशिल पत्रकार र फोटो व्यवसायिहरुले खिचेका तस्बीरहरुलाई प्रदर्शनीमा राखिएका छन् ।

जिल्लाको सबै ठाउँमा पुग्न नसकेपछि जिल्लाको सबै ठाउँलाई तस्बीर र बृत्तचित्रबाट हेर्न पाउँदा खुसी लागेको अवलोकनकर्ता मिलन कार्कीले बताउनुभयो । फोटो प्रदर्शनीमा पर्वत र बागलुङका पर्यटकीय ठाउँका आकर्षक तस्बिरहरुलाई समेत समावेश गरिउको छ ।

जनजाती समुदायको पुख्यौली नृत्य, मह शिकार, उत्खननको पर्खाइमा रहेका खानी, पर्यटकीय एवम् धार्मिक क्षेत्रका तस्बीहरुले लोभ्याउने गरेको अवलोकनकर्ताहरु बताउँछन् । “संस्कृतिलाई जीवन्तता दिन तस्बिरहरु समेत छन, म्याग्दीमा ५० बर्ष अहिले विदेशी नागरिकहरुले खिचेका तस्बिरहरुलाई समेत सामेल गराएका छौँ, यसले जिल्लाको विगत र वर्तमानको बारेमा अध्ययन गर्न समेत सघाउ पु¥याएको छ,’’– म्याग्दी उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले भन्नुभयो ।

म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा जारी महोत्सवमा समावेश गरिएको तस्बिर र बृत्तचित्र प्रदर्शनीले कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य लिएको छ ।

यसैबिच रघुगंगा गाउँपालिका–३ का चित्रकार अमृत शिर्पालीले महोत्सव परिसरमा राखेको चित्रकला पदर्शनीमा समेत दर्शकलाई लोभ्याईरहेको छ । म्याग्दीको पर्यटकीय रिखार, घोरेपानी, खोप्रालेक, भगवती मन्दिर गलेश्वर शिवालय लगायतका विभिन्न क्षेत्रहरुलाई चित्रकला मार्फत दुरुस्त चित्र कोरेर प्रदर्शनीमा राखेपछि अवलोकनकर्ताले अनौठो मान्दै हेर्ने गरेका छन् ।

रघुगंगा गाउँपालिकाको समन्वयमा शिर्पालीले राखेको चित्रकला पदर्शनीमा राखेका चित्रहरुलाई कतिपय अवलोकनकर्ताहरुले किनेर लैजाने समेत गरेका छन् ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l