म्याग्दीका मीन बहादुर शेरचन छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै

  • २३ फाल्गुन २०७३, सोमबार
  • 9205 पटक पढिएको

म्याग्दी, २३ फागुन । म्याग्दीको भुरुङ तातोपानीका मीनबहादुर शेरचनले ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लाग्नुभएको छ । वयोवृद्ध सगरमाथा आरोही शेरचनले विश्व कीर्तिमान कायम राख्न ८६ बर्षको उमेरमा सगरमाथा चढ्न लाग्नुभएको छ । शेरचनको सगरमाथा आरोहणलाई सफल बनाउन ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ मार्फत आबश्यक सहयोग जुटाउन समेत थालिएको छ ।Min bahadur serchan News उहाँलाई सगरमाथा आरोहण गर्नका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायत, गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायत लगायतका सङ्घ संस्थाहरुले सहयोग रहेका छन् । अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्ने उदेश्यले शेरचन सगरमाथा आरोहण गर्न लाग्नुभएको बताउनुभयो ।

यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढ्नुभएको थियो । सन् २०१५ मा सगरमाथा आरोहण गर्न आधारशिविर तर्फ प्रस्थान गरेका शेरचन मुलुकमा गएको महाभुकम्पको कारण आरोहण स्थगित गरि फर्कन बाध्य हुनुभएको थियो । ‘त्यतिबेला भूकम्पले गर्दा जान सक्नुभएन, अहिले अभियान नै बनाएर उहाँलाई सगरमाथा चढाउन लागेका छौँ, उहाँको आट र शाहसको सम्मान गर्दै हामीले अभियान चलाएका हाँै’’–संयोजक घर्तिमगरले भन्नुभयो ।

mi

आफ्नो स्वेच्छाले शिखर आरोहण गर्न लागेको भन्दै आरोही शेरचनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताउनुभयो । “म बुढो भए पनि मेरो आँट बुढो भएको छैन, जेष्ठ नागरिकहरुको तर्फबाट म यस पटक सगरमाथा चढेरै छाड्छु’’–उहाँले भन्नुभयो  । यसअघि विसं २०६५ जेठ १२ मा ७७ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल भई ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’ मा नाम लेखाउन सफल भएपनि पछि ८० वर्षीय जापानी नागरिक युचिरो मिउराले सो रेकर्ड तोडेपछि शेरचन पुनः सगरमाथा चढ्न लाग्नुभएको हो ।

‘बुढापाकालाई साहस र युवा पुस्तालाई प्रेरणा दिन शेरचनको आरोहणको मुख्य सन्देश हो, अभियानका संयोजक घर्ति मगरले भन्नुभयो– नेपाललाई विश्व सामु चिनाउनुनै हाम्रो गौरब हो । ’’ म्याग्दीको भुरुङतातोपानी–९मा जन्मिएका शेरचन भूतपूर्व गोरखा सैनिक समेत हुनुहुन्छ ।

उहाँले २०२ किमिको काठमाडौं —पोखरा यात्रा चार दिनमा र १०२८ किमिको मेची—महाकाली यात्रा २० दिनमा पैदलयात्रामार्फत पूरा गरिसक्नुभएको छ । सगरमाथा आरोहण अगाडि शेरचनले अन्य हिमाल पनि बढ्नुभएको थियो । करिब ५ बर्ष अगाडी जन्मथलो भुरुङ तातोपानीमा आयोजीत रुप्से, तातोपानी र अन्नपूर्ण महोत्सवका अबसरमा अभिनन्दनको क्रममा उहाँले दुई पटक शिखर चढ्ने ईच्छा ब्यक्त गर्नुभएको थियो ।

ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान कायम गराउन लाग्नुभएका शेरचनलाई म्याग्दी जिल्लाबासीहरुले सफलताको कामना समेत गरेका छन् ।