जब बेनीमा बद्रीले बबाल गरे (भिडियो सहित)

  • १ माघ २०७४, सोमबार
  • 2499 पटक पढिएको

म्याग्दी, १ माघ । बेनीको खुलामच्च दर्शकले भरिभराउ थियो । पुस महिनाको अन्तिम दिन आईतवार चिसो पनि उत्तिकै थियो । छैटौ म्याग्दी महोत्सवमा रमाउन पुगेका दर्शकहरुलाई फन्को मारेर नघुमिकन बस्न दिएनन् गायक बद्री पंगेनीले ।

चर्चित गायक पंगेनीको बिशेष प्रस्तुती रहने भएपछि दर्शकहरुको भिड पनि उत्तिकै लागेको थियो । खचाखच दर्शकले भरिएको खुलामच्चबाट एकाएक गायक पंगेनीले जाडो भगाईदिए ।

आफ्ना चर्चित गितहरु मार्फत गायक पंगेनीले दर्शकहरुलाई समेत छमछमी नचाएर भरपूर्ण मनोरञ्जन दिए । चर्चित मोडल सोभा त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा गायक पंगेनीलाई आयोजक म्याग्दी उद्योग बाणिज्य संघका पदाधिकारी सहित कार्यक्रमका अतिथिहरुलाई समेत नचाउन भ्याए ।

स्टेजबाट दर्शकदिर्घालाई नमस्कार टक्राएका गायक पंगेनीले मञ्चको तल्लो भागमा रहेका दर्शकमाझमै पुगेर आफ्नो आमालाई सम्झदै गित गाए ,‘आमा विदा पाउँदीन, अहिलेको चाडपनी आमा घरमा आउँदीन’ बोलको गितबाट आफ्नो प्रस्तुती सुरु गरेका गायक पंगेनीले रोजगारिको लागि विदेश जाने संस्कृतिलाई त्याग्दै स्वदेशमा स्वरोजगार बन्नतर्फ लाग्न आम म्याग्देलीहरुलाई अनुरोध गरे ।

कार्यक्रममा गायक पंगेनीले खान्न मत पिडालु कोक्कायो, तिम्रो काखमा रातो पछ्यौरी लगायतका आधा दर्शन बढी गित गाएका थिए । कार्यक्रममा गायक बैकुण्ठ महत, कुमार पुन लगायतका चर्चित कलाकारहरुले समेत भरपूर्ण मनोरञ्जन प्रदान गरेका थिए । खुलामञ्चमा जारी महोत्सव संगीतमय बन्दै गएको छ ।