बहुउद्देश्यीय सहकारीहरु मिलेर व्यावसायिक काम गर्नुपर्छ : जिसी

  • ३० पुष २०७४, आईतवार
  • 2033 पटक पढिएको

बागलुङ, २९ पुस । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले बहुउद्देश्यीय हकारी संस्थाहरु एक आपसमा सहकार्य गरेर बजारीकरणका क्षेत्रमा व्यावसायिक काम गर्नु पर्नेमा जोड दिनु भएको छ ।   बहुउद्देश्यीय सहकारी संघ लिमिटेड बागलुङको तेस्रो वार्षिक साधारणसभाको शनिवार बागलुङ बजारमा उद्घाटन पछि बोल्दै उहाँले बहुउद्देश्यीय नाम राखेका सहकारीहरुले अनिवार्य रुपमा दुई भन्दा बढी काम गर्न पर्ने बताउनु भएको हो ।

सहकारी ऐनले विशिष्ठीकृत सहकारी संघको अवधारणा ल्याएको भन्दै उहाँले बहुउद्देश्यीय सहकारीहरुले बजारीकरणको काम गर्नु पर्नेमा जोड दिनु भयो । वचतका सहकारीहरुले कर्जा लगानी गर्ने, उत्पादनका सहकारीहरुले उत्पादनका लागि शीप र प्रविधिको व्यवस्थापन गर्ने तथा बहुउद्देश्यीय सहकारीहरुले उत्पादित वस्तुको बजारीकरण गर्ने हो भने बिचौलियाको अन्त्य भई उत्पादक र उपभोक्ताको आर्थिक अवस्थामा सुधार आउने उहाँको धारणा थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम र उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गर्दै सबै विषयगत सहकारीहरुसंग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।   साधारणसभाले सचिव रुद्रबहादुर केसीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजु केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक हुमबहादुर थापाले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रम बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष अञ्जु जिसीको अध्यक्षता, उपाध्यक्ष दुर्गाबहादुर कुँवरको स्वागत र सचिव रुद्रबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।   साधारणसभाले दुर्गाबहादुर कुँवरको अध्यक्षतामा नयाँ सञ्चालक समिति र हुमबहादुर थापाको संयोजकत्वमा लेखा समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।   सञ्चालक समितिको उपाध्यक्षमा कुसुम बुढा, सचिवमा रुद्रबहादुर केसी, सहसचिवमा चुडामणी आचार्य र कोषाध्यक्ष राजु केसी चयन हुनु भएको छ ।

समितिका सदस्यहरुमा कृष्णप्रसाद पौडेल (कुमार), गंगाबहादुर हमाल, पूर्णप्रसाद पौडेल, हिरामणी उपाध्याय, गणेशप्रसाद शर्मा र शिवकला थापा रहनु भएको छ । यस्तै लेखा समितिको सदस्यहरुमा सुरेशप्रसाद श्रेष्ठ र फूलप्रसाद सापकोटा रहनु भएको छ ।   नवनिर्वाचित सञ्चालक समितिलाई वधाई ज्ञापन गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी अभियानलाई प्रभावकारी बनाउन सबैसंग समन्वय र सहकार्य गरेर अगाडि बढ्न सञ्चालक र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्नु भएको थियो ।