जब बेनीको खुलामञ्चमा रत्यौली गाउँदै दुलही भित्र्याईयो (भिडियो सहित)

  • २९ पुष २०७४, शनिबार
  • कमल खत्री
  • 3279 पटक पढिएको

म्याग्दी, २९ पुस । पुस महिनामा विवाहको लागि लगन पनि थिएन् । तर हजारौँ मानिसहरुको उपस्थितिमा एकपछि अर्को विवाह भईरहेको थियो । महिलाहरु धुमधामका साथ रत्यौली गित गाउँदै छमछमी नाच्दै दुलही भित्र्याईरहेका थिए । लगनै नभएको महिनामा विवाह र त्यो पनि परम्परागत रत्यौली गितका साथ निकै रोचक थियो । सहभागी हजाराँैले निकै उत्सुकताका साथ अवलोकन गरिरहे । यो दृष्य वास्तविक विवाहको नभई बेनीको खुलामञ्चमा जारी छैटौँ म्याग्दी महोत्सवमा समावेश गरिएको रत्यौली गित प्रतियोगिताको हो ।

पुस २८ गतेदेखि सुरु भएको महोत्सवको दोस्रो दिन शनिवार खुला रत्यौली गित प्रतियोगिता आयोजना गरिएको थियो । म्याग्दीमा पहिलो पटक आयोजना गरिएको सो प्रतियोगिताले महोत्सवको अवलोकन गर्न आएका दर्शकहरुलाई निकै आकर्षित गरेको छ । परम्परागत रुपमा हुने विवाहमा दुलाह पक्षको घरमा खेलिने रत्यौलीलाई खुलामञ्चमा प्रतियोगिताको रुपमा सुन्न र देख्न पाउँदा गितसंगीतमा रुची राख्नेहरु मख्ख देखिन्थे ।

ब्राह्मण समाजको रत्यौली प्रतियोगितामा सहभागी कलाकारहरु मध्ये दुलहा र दुलहीको विवाह गराउने पुरोहीतको भूमिकामा रहेका रामप्रसाद सुवेदीले रत्यौली गित प्रतियोगिताले हराउँदै गएको मौलिक संस्कृतिको संरक्षण गर्न सहयोग पुग्ने बताउनुभयो ।
प्रतियोगितामा विभिन्न ७ समुहले सहभागीता जनाएका थिए । सबैजसो प्रतियोगिहरुले दुलहा र दुलही सहित वैवाहिक कार्यक्रमलाई अभिनय मार्फत प्रस्तुत गर्दै रत्यौली भाकाका गितहरु प्रस्तुत गरेका थिए ।

घरबाट वैदिक विधि अनुसार आमाको दुध छुटाएर दुलहालाई दुलही लिनको लागि जन्ती सहित पठाएर घरमा रत्यौली गित गाएको दृष्यहरु समेत अभियन मार्फत देखाउँदा दर्शकदिर्घाहरुले समेत भरपुर मनोरञ्जन लिएका थिए । जन्ती सहित घरबाट गएको दुलहाले दुलही ल्याएर आउने र घरमा परम्परागत शैलिमा गरिने स्वागतका दृष्यहरुलाई समेत अभिनय मार्फत देखाउँदै दर्शकहरुलाई साँच्चीकै विवाहको झल्को दिने गरेको थियो ।

प्रतियोगितामा सहभागी कलाकारहरुले आमाले दुख गरि छोरा हुर्काएको, विवाह गराई जिम्मेवारी सुम्पिएको, बुहारीको सुन्दरता, र गुण, छोरा (दुलहा)को असल व्यवहार संगै विवाह पश्चात बाबु आमालाई गर्ने व्यवहार लगायतका पक्षहरुलाई समावेश गरेका थिए ।
विभिन्न ७ समुहले सहभागीता जनाएको सो प्रतियोगितामा क्षत्री समाज म्याग्दी प्रथम हुन सफल भएको छ ।

त्यसैगरि धौलागिरि नाट्य समुह द्धितिय हुन सफल भएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम र द्धितियलाई क्रमश ः नगद रु १५ हजार १११, ७ हजार १११ को साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको लोकदोहोरी गित तथा रत्यौली गित प्रतियोगिताका संयोजक सुविन श्रेष्ठले बताउनुभयो ।

‘‘ मौलिक कला संस्कृतिलाई संरक्षण गर्ने हेतुले हामीले विभिन्न साँस्कृतिक कार्यक्रम समावेश गरेका छाँै, परम्परागत विवाहमा देखाईने रत्यौली गितहरु पनि हराउने तर्फ उन्मुख भएको हामीलाई महसुस भएको थियो , त्यसैले पहिलो पटक म्याग्दीमा यसलाई हामीले प्रतियोगिताको रुपमा समावेश गरेका हौँ, यो प्रतियोगिताले दर्शकहरुको पनि निकै ध्यान तान्यो’’–संयोजक श्रेष्ठले भन्नुभयो । उहाँले महोत्सवमा स्थानीय कला संस्कृतिको प्रस्तुतीहरु संगै खुला दोहोरी गित र लोकनृत्यको साथमा रत्यौली गित प्रतियोगिता समावेश गरिएको र यसले यहाँको मौलिक कला संस्कृति र पहिचानलाई जोगाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

भिडियो

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l