छैठौ म्याग्दी महोत्सवको तयारी पुरा, बेनीबजार बन्यो चिटिक्क (भिडियो सहित)

  • २७ पुष २०७४, बिहीबार
  • कमल खत्री
  • 2980 पटक पढिएको

म्याग्दी, २७ पुष । शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवंम ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक ब्यापारीक मेला सुरु हुदैछ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको अधिकाँश तयारी पुरा मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उक्तम कर्माचार्यले बताउनुभयो ।

स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको छ । महोत्सवको आन्तरिक तयारी पुरा भएको र महोत्सव स्थलमा रहेका स्टलहरुको व्यवस्थापनको काम भईरहेको अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

शुक्रवार विहान साढे १० बजे बेनीमा पहिचान झल्कने झाँकी सहितको ¥यालीले बजार परिक्रमा पश्चात दिउँसो पौने १ बजे खुलामञ्चमा महोत्सवको औपचारिक रुपमा उद्घाटन गरिनेछ । महोत्सवको शुक्रवार पुर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेछ । महोत्सवलाई सफल बनाउन सञ्चार माध्ययम, माईकिङ, प्रर्चा पम्प्लेट लगायतका बाध्ययम मार्फत प्रचार प्रसारलाई व्यापक बनाईएको प्रचार प्रसार संयोजक सुवर्ण रिजालले जानकारी दिनुभयो ।

स्थानीय उत्पादन, कृषि, पशुपालन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी गित प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी, रमाईलो मेला महोत्सवको आकर्षण रहने महासचिव लिलाराम गौतमले बताउनुभयो ।

पर्यटन प्रर्वद्धनका लागि कालीगण्डकीमा ¥याफ्टीङ र बेनी देखि लभहिलसम्म घोडा सफारी गराइने भएको छ । करिब १७० वटा व्यवसायीक स्टल रहने महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निशूल्क प्रर्दशनीको व्यवस्था मिलाइएको स्थानीय उत्पादन प्रदशनी व्यवस्थापन उपसमितिका संयोजक नवराज पौडेलले बताउनुभयो ।

जिल्लामा रहेका १ नगरपालिका सहित ५ वटै गाउँपालिकामा रहेका स्थानीय घरलु उत्पादन र खनीज लगायतका सामानहरु पदर्शनीमा आउने उहाँले बताउनुभयो । महोत्सवलाई लक्षित गरेर बेनीका बासिन्दाले बजार झकीझकाउ बनाएका हुन् । बेनीको सार्वजनीक स्थल सरसफाई गरेर चिटिक्क बनाइएको छ ।

महोत्सवको अवलोकनका लागि आउने पर्यटक र पाहुनाहरुको स्वागतको लागि बेनी बजारका विभन्नि चोकमा तुल ब्यानर सहित स्वागत गेटहरु बनाईएका छन् । महोत्सवमा पर्यटन प्रवद्र्धनको लागि फोटो प्रर्दशनी, डकुमेन्ट्री प्रर्दशन, नजीकका पर्यटकीय ठाउँमा भम्रणको लागि यातयातको व्यवस्था, कालिगण्डकी नदीमा ¥याफ्टीङको समेत व्यवस्था मिलाईएको दितृय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ भने छ करोडको कारोबार हुने अनुमान गरिएको छ । महोत्सव अवलोकनका लागि रु १ हजार र २ हजारका शिषेश टिकट सहित रु ५० को न्युनतम टिकट व्यवस्था गरिएको छ भने महोत्सवलाई शान्त रुपमा सम्पन्न गर्नका लागि महोत्सव स्थल वरपर सिसी क्यामेरा जडान गरि अवलोकन समेत गरिनेछ ।

महोत्सव स्थलमा राखिने फोटो प्रदशनीमा म्याग्दीका पर्यटकीय क्षेत्रहरुको तस्बिर संगै म्याग्दीको ५० बर्ष अगाडीका विभिन्न ठाउँमा खिचिएका ऐतिहाँसिक तस्बिरहरुलाई समेत समावेश गरिएको फोटो प्रदशनीका संयोजक भोजबहादुर रिजालले बताउनुभयो ।

त्यस्तै महोत्सवको अबसरमा लोक संस्कृतिको संरक्षणको लागि लोपउन्मुख बनेको रत्यौली गित प्रतियोगिता, दोहोरीगित, खुला नृत्य लगायतका प्रतियोगिता संगै झाँकी प्रदशन र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगेतिक प्रस्तुती लगायतका कार्यक्रमहरुलाई समेत समावेश गरिएको प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । कार्यक्रममा स्थानीय विभिन्न जातजातीको मौलिक नाचहरु संगै चर्चित राष्ट्रिय कलाकारहरुको समेत विशेष प्रस्तुतीहरु राखिएको संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l