तारेखमा छुटे डा. गोविन्द केसी,

  • २६ पुष २०७४, बुधबार
  • 1927 पटक पढिएको

 पुस, काठमाडौं । सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई तारेखमा राखी अधिवक्ता सुरेन्द्र भण्डारीको जिम्मामा छाड्न आदेश दिएको हो । आदेश लगतै डा. केसी प्रहरी हिरासतबाट रिहा भएका छन् । उनी अदालतबाट सिधै शिक्षण अस्पताल पुगेर आमरण अनसन कायमै राखेका छन् । अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. केसीले आदेश सकारात्मक भएको र आमरण अनसन जारी राख्ने नराख्नेबारे भोलि निर्णय दिने बताए । ‘उहाँले जहाँ अनसन थाल्नु भएको थियो, त्यही बस्नु भएको छ’ डा. जीवन क्षेत्रीले भने ।

अदालतको अवहेलनाको मुद्दा गरेपछि सर्वोच्चको आदेशमा डा. केसीलाई सोमबार साँझ अनसनस्थलबाटै पक्राउ गरेका थिए । उनलाई मंगलबार सर्वोच्चमा उपस्थिच गराएर बयान लिइएको थियो भने बुधबार बहस भएको थियो । सर्वोच्चलेप्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता, उमेर विवादमा न्याय परिषद्ले गरेको निर्णय र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि झिकाउन आदेश दिएको छ । यससँगै पराजुली न्यायिक छानविनको दायरामा आएका छन् । सुनुवाईका क्रममा डा. केसीले प्रधानन्यायाधीश गोपाल पुराजुली भ्रष्ट र माफिया भएको भन्दै आफ्नो बयान कायमै राखेका थिए । बहसको अन्तिममा एक मिनेट समय लिएर बोलेका उनले आफू जेल जान तयार रहेको तर, पराजुलीमाथि छानविन हुनु पर्ने अडान लिए । डा. केसीका तर्फबाट बहस गरेका वकिलहरुले प्रधानन्यायाधीशलाई पनि इजलासमा झिकाउन र आफ्ना कुरा राख्न लगाउन माग गरेका थिए । रिट निवेदनको तर्फबाट बहस गरेका पूर्व महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ लगायतले भने डा. केसीमाथि अदालतको अवहेलनामा कारबाही गर्नु पर्ने बताएका थिए । Source : www.onlinekhabar.com