छैटौँ म्याग्दी महोत्सवको तयारी तिब्र (भिडियो सहित)

  • २५ पुष २०७४, मंगलवार
  • कमल खत्री
  • 2385 पटक पढिएको

म्याग्दी, २५ पुस । यही पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको तयारीलाई तिब्र पारिएको छ । महोत्सवको करिब ८० प्रतिशत तयारी पुरा भएको मुल आयोजक म्याग्दी उद्योग बाणिज्य संघले जनाएको छ ।

महोत्सव स्थल खुलामञ्चमा स्टल र स्टेजको लागि आबश्यक पूर्वाधार निर्माणको कार्यलाई तिब्र बनाईएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अुनसार, महोत्सवस्थलमा रहने रमाईलो मेलाको लागि समेत आबश्यक तयारी थालिएको छ ।

आर्थिक संकलनको क्रममा अहिलेसम्म रु ४० लाख बढी संकलन भईसकेको र प्रायोजक तथा सहयोगदाताहरुसंगको भेटघाट र छलफल कार्यक्रमलाई समेत निरन्तरता दिईएको छ । त्यसैगरि महोत्सवमा बिशेष टिकटलाई समेत विक्रि गर्न थालिएको छ । अहिलेसम्म करिब रु ३ लाख ५० हजार बढीको बिशेष टिकट विक्रि भईसकेको संघका द्धितिय उपाध्यक्ष एवम् प्रवेश टिकट व्यवस्थापन उपसमितिका संयोजक राजेश शाक्यले बताउनुभयो ।

महोत्सवमा रु १ हजार र २ हजारको बिशेष टिकट सहित रु ५० को न्युनतम टिकटको व्यवस्था गरिएको छ । महोत्सवमा रहने १५० वटा व्यवसायिक स्टल बुक भैसकेका छन् । पर्चा, पम्पलेट, ब्रोसर, ब्यानर, सामाजिक सञ्जाल र सञ्चार माध्यम मार्फत महोत्सव प्रचारप्रसार गरिएको छ । महोत्सवको दिन नजिकिएसंगै प्रचार अभियानलाई थप व्यवस्थित र व्यापक बनाईएको संघका सचिब एवम् प्रचार प्रसार समिति संयोजक सुवर्ण रिजालले जानकारी दिनुभयो । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा म्याग्दीको हरेक क्षेत्रलाई समेटेर फोटो पर्दशनी समेत समावेश गरिएको छ । फोटो प्रदर्शनीमा म्याग्दीको ५० बर्ष अगाडी विभिन्न ठाउँमा पुगेर विदेशीहरुले कैद गरेका तत्कालिन जनजीवन झल्काउने तस्बिरहरुलाई समेत समावेश गरिने पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक भोजबहादुर रिजालले बताउनुभयो ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने र करीब छ करोड रुपैया बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा करिब १ करोड रुपैयाँ आर्थिक संकलन गर्ने संघको लक्ष्य रहेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका संघका कोषाध्यक्ष अमित बानियाँले बताउनुभयो । स्थानीय उत्पादनलाई निशूल्क प्रर्दशनीका लागि स्टलको व्यवस्था गरिएको छ । महोत्सवको अवसरमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै लोकदोहोरी, स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, एकल र खुल्ला नृत्य प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी लगायतका कार्यक्रम आयोजना गरिने भएको छ । महोत्सवमा चालीस लाख रुपैया बराबरको टिकट बिक्री गर्ने लक्ष्य राखिएका छ । म्याग्दीका पर्यटकीय स्थलहरुको तस्वीर समावेश गरी त्यस स्थानको पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने योजना बताइएको छ । महोत्सवमा लोक दोहोरी, पुरुष महिला भलिबल, बास्केटबल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l