त्रिसट्ठी हजार पर्यटकले घान्द्रुक-घोडेपानीको भ्रमण गरे

  • २४ पुष २०७४, सोमबार
  • सन्तोष गौतम
  • 2453 पटक पढिएको

म्याग्दी, २४ पौष । सन् २०१७ मा ६३ हजार ५०० बाह्य पर्यटकले घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका कार्यालय घान्द्रुकका अनुसार सन २०१६ को तुलनामा सन् २०१७ मा बिरेठाटी हँुदै घोडेपानी र घान्द्रुकको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४८ प्रतिशतले बढेको छ । सन् २०१७ मा बिरेठाँटी हँुदै घोडेपानी, घान्द्रुक, अन्नपूर्ण बेसक्याम्प क्षेत्रको भ्रमणका लागि ६३ हजार ५३७ जना बाह्य पर्यटक भित्रिएको कार्यालयका प्रमुख संरक्षण अधिकृत विदुरविक्रम कुइँकेलले जानकारी दिनुभयो ।

बिरेठाँटी यो क्षेत्रमा पर्यटक भित्र्ने मुख्य नाका हो । कार्यालयका अनुसार बिरेठाँटीबाट सन् २०१६ मा ४७ हजार २७४ बाह्य पर्यटक भित्रिएका थिए । सन् २०१५ मा ३६ हजार र २०१४ मा ४२ हजार पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । बिरेठाँटी, शिख र छोमरोङ चेकपोस्टमा घोडेपानी, घान्द्रुक क्षेत्रको पदयात्रामा आउने र फर्कने पर्यटकको विवरणसहितको तथ्यांक राख्ने गरिन्छ । अक्टोबरमा सबैभन्दा धेरै १० हजार ९९८ र जुनमा सबैभन्दा कम एक हजार ६२२ जना पर्यटक भित्रिएका थिए ।

देशको अवस्था शान्तिपूर्ण हुनु, प्राकृतिक विपद्का घटना नभएको, सुविधासम्पन्न होटल खुल्न थाल्नु, सञ्चार सुविधाको विस्तार, पूर्वाधारको विकास र यस क्षेत्रको प्राकृतिक सौन्दर्यको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार भएकाले पर्यटक आगमन बढेको अधिकृत कुइँकेलले बताउनुभयो । म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको घान्द्रुक, लान्द्रुक, एबिसी क्याम्प, घम्पुसलगायत पर्यटकीय क्षेत्रलाई समेटेको अन्नपूर्ण सेञ्चुरी पदमार्गमा पर्यटक आगमन बढ्दै गएको छ । पर्यटकीय नगरी पोखराको नजिक पर्ने भएकाले छोटो समयको पदयात्रा गर्ने पर्यटकको लागि आकर्षक गन्तव्य मानिन्छ ।

दशदेखि १४ दिनमा पूरा गर्न सकिने अन्नपूर्ण सेञ्चुरी पदमार्गको मुख्य गन्तव्य पुनहिल, घान्द्रुक, एबिसी क्याम्प, घम्पुस र मार्दी हिमाल हो । बिरेठाँटीबाट भित्रिएका आधाजसो पर्यटक छोमरोङ हुँदै एबिसी क्याम्प पुग्ने गरेका छन् । सन् २०१७ मा छोमरोङ हँुदै ३१ हजार ६८९ पर्यटक एबिसीतर्फ गएको तथ्यांक छ । छोमरोमङमा सन् २०१६ को अप्रिल महिनामा पर्यटक चेकपोस्ट स्थापना भएको थियो ।

मगर, गुरुङ बस्ती, उनीहरुको कला, संस्कृति जीवनशैली, हिमशृंखला, सूर्योदय, लालीगुराँसको जंगल, एकान्त वातावरण यस पदमार्गको मुख्य विशेषता हो । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति रु २०० र अन्य मुलुकका नागरिकले प्रतिव्यक्ति रु दुई हजारका दरले शुल्क तिर्नुपर्छ ।

सन्तोष गौतम