जमिनबाट निस्किन थाल्यो धुँवा, स्थानीयलाई अनिस्ट हुने चिन्ता

  • २४ पुष २०७४, सोमबार
  • 2215 पटक पढिएको

लमजुङ, २४ पुस– लमजुङको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका–९ सिउडीबारको बस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो । स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन् । गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो । पछिल्ला दिनमा धुवाँको मुस्लो बढ्दै गएको स्थानीयवासी सुनिता खनालले बताए । विशेषगरी बिहान र बेलुकीको समयमा धुवाँको मात्रा बढी देखिने खनालको भनाइ छ । 

सुक्खा जमिनबाट अचानक धुवाँ आउन थालेपछि त्रस्त भएका स्थानीयवासीले परीक्षण र सुरक्षाका लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । स्थानीयवासीले भेला भई सुरक्षा र आवश्यक जाँचबुझका लागि निवेदन दिएको स्थानीय विश्वबन्धु अधिकारीले बताए ।

घटनाबारे छानबिनका लागि गृह मन्त्रालयसँग समन्वय गरी पहल गरेको प्रमुख जिल्ला अधिकारी युवाराज मैनालीले बताए । जानकारी पाएसँगै आफूले पनि स्थलगत अवलोकन गरेको उनले बताए । आश्चर्यपूर्ण घटनाका सम्बन्धमा विभिन्न आङ्कलन भएको छ । मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै सुख्खा जमिनमा धुवाँ निस्किएपछि जमिन भित्रको पानीको दबाबका कारण चट्टान तातेर धुवाँ निस्किएको हुन सक्ने स्थानीयवासीको आशङ्का छ ।

वर्षौंदेखि वरपर जमिनमा कुनै पानीको मूल नभएको र जमिन सुख्खा भएकाले पानी वा चिस्यानको बाफ नभई जमिन भित्रको तातोको धुवाँ हुनसक्ने स्थानीयवासी कृतिनाथ सापकोटाले बताए । दिन प्रतिदिन तातो धुवाँको मात्रा बढ्दै गएकाले यथाशीघ्र छानबिन गरी सुरक्षाको प्रत्याभूति दिन स्थानीयवासीको माग छ । source: www. lokaantar.com