पार्टी एकतापछि आलोपालो भन्ने हुदैन : महासचिव पोखरेल

  • २४ पुष २०७४, सोमबार
  • 1735 पटक पढिएको

काठमाडौं, २३ पुस । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले दुईपार्टी बीचको एकतापछि सरकारको नेतृत्व आलोपालो भन्ने नहुने बताउनु भएको छ । छुट्टा छुट्टै पार्टीबीच सत्ता समिकरण बन्दा मात्रै आलोपालोको कुरा हुने भन्दै उहाँले एउटै पार्टी भएपछि आलोपालोको कुरै नहुने बताउनु भएको हो ।

नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले आइतवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले पार्टी एकीकरण बिचार, बाटो र विश्लेषण मिलेका कारण हुन लागेको बताउनुभयो । उहाँले एकीकरण देशको आवश्यकता र जनताको भावना तथा चाहना भएकाले एकताबाट बाहिर जाने अवस्था नरहेको स्पष्ट पार्नु भयो ।

प्रधानमन्त्री र अध्यक्ष को हुने भन्ने विषयमा बजारमा हुने चर्चा परिचर्चाहरुमा सत्यता नभएको भन्दै महासचिव पोखरेलले अड्कलवाजीका आधारमा गरिने सस्तो प्रचारका पछि नलाग्न नेता, कार्यकर्ता तथा समर्थक सुभेच्छुकहरुलाई आव्हान गर्नु भयो । एकता भएपछि एउटै भावना, एउटै बोली र एउटै नीति कार्यक्रम हुने भएकाले सोही अनुसारको व्यवहार प्रदर्शन गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

एकतापछि पार्टीको नीति के हुने भन्ने विषयमा दुई पार्टीका अध्यक्षहरुबीच छलफल भैरहेको जानकारी गराउदै उहाँले संगठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा कार्यदल बनाएर छलफल गरी एकता संयोजन समितिमा पेश गर्ने र त्यसले निर्णय गर्ने बताउनुभएको छ ।

कार्यदलले पेश गर्ने प्रतिवेदनमाथि एकता संयोजन समितिमा छलफल गरेर पार्टी नेताहरुको व्यवस्थापन टुंगो लाग्ने उहाँको भनाइ छ । एकता अभियानपछिको संक्रमणकाललाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आन्तरिक रुपमा छलफल भैरहेको भन्दै महासचिव पोखरेलले छिटै यसलाई मूर्तरुपमा दिइने बताउनुभयो ।

सहकारी क्षेत्रका बारेमा प्रतिक्रिया दिदै उहाँले समृद्ध मुलुक निर्माणका लागि सहकारी क्षेत्रले उद्यमशिलताको विकास गरी आम जनतालाई आयआर्जन र वचत गर्न प्रेरित गरेको बताउनुभयो । सहकारी क्षेत्रले विपन्न वर्गका जनताको आर्थिक विकासका लागि प्रभावकारी काम गर्दै आएको भन्दै उहाँले सबै क्षेत्रमा सहकारीको भूमिका बढाउनका लागि स्पष्ट योजनाका साथ अगाडि बढाउन सहकारीकर्मीहरुलाई आग्रह गर्नु भयो । सहकारी क्षेत्रमा काम गर्नेहरुले यसको प्रवद्र्धनमा राज्यले कस्तो भूमिका निर्वाह गर्न सक्छ भन्ने विषयमा छलफल गरी कार्ययोजना राजनीतिक दलहरु र सरकारलाई पेश गरी नीति निर्माणमा सहयोग गर्न समेत उहाँले आव्हान गर्नु भयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष केशव बडालले सहकारी क्षेत्र सामाजिक व्यवसाय भएकाले यसको मर्म र भावनालाई कुण्ठित नगरी यसको संगठनात्मक संरचनालाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । जनताको प्रत्यक्ष सहभागितामा गरिने व्यवसायका रुपमा रहेको सहकारीलाई यसका अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तको आधारमा सञ्चालन गर्न उहाँले सबैलाई आव्हान गर्नुभयो ।

गरिवी निवारणका क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै उहाँले सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । जहाँ सहकारी क्षेत्रको सघन र प्रभावकारी उपस्थिति छ, त्यहाँ गरिवी कम भएको तथ्यांक प्रस्तुत गर्दै बडालले आम जनतालाई आर्थिक रुपमा सबल र सामाजिक रुपमा रुपान्तरित गर्नका लागि सहकारी क्षेत्रको भूमिका प्रभावकारी हुने दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सहकारी एवं गरिवी निवारण विभाग प्रमुख पशुपति चौलागाईले सहकारी क्षेत्रले देशको गरिवी निवारणका क्षेत्रमा गरेको योगदानको पुर्नमूल्यांकन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारी प्राधिकरण गठन गरेर यसले गरेको योगदानका लागि यसमार्फत गरिवी निवारणमा गर्न सकिने सुधारका विषयमा समन्वय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं. १ बाट रमेशप्रसाद पोखरेल, २ बाट कर्णबहादुर सिंह, ३ बाट टेकप्रसाद चौलागाई र सागर नेपाल ४ बाट रामबहादुर जिसी, ५ बाट भीम तुलाचन, ७ बाट मेघराज शाहीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र सहकारी ऐनको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा सुझाव दिनु भएको थियो । कार्यक्रम एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका संयोजक पशुपति चौलागाईको अध्यक्षता, विभागका सचिव के.बी. उप्रेतीको सञ्चालन र एमाले केन्द्रीय लेखा आयोगका सदस्य मीनराज कंडेलको स्वागतमा सम्पन्न भएको थियो ।