म्याग्दी साहित्य सञ्चारद्वारा १ लाखको साहित्यिक अक्षयकोष घोषणा

  • २३ पुष २०७४, आईतवार
  • 2345 पटक पढिएको

म्याग्दी । म्याग्दी जिल्लाका साहित्यिको उत्थान र साहित्यकारहरुको कल्याणका लागि म्याग्दी साहित्य सञ्चारले १ लाखको अक्षय कोष स्थापना गर्ने भएको छ । संञ्चारको दोस्रो साधारणसभाको अवसर उक्त अक्षयकोषको घोषणा गरिएको हो । अक्षयकोषबाट प्रत्येक वर्ष जिल्लाका एक जना साहित्यकारलाइ सम्मान गर्ने, नव सर्जकहरुलाइ प्रोत्साहन गर्ने लगायतका उद्देश्य राखिएको सञ्चारका उपाध्यक्ष सन्दीप खत्रीले जानकारी दिए । उनले जिल्लामा धेरै साहित्यिक संघ संस्था क्रियाशिल भएपनि साहित्यकारहरुको कल्याणकारी कोषको आवश्यकता महशुस गर्दै अक्षय कोष स्थापना गरिएको बताए ।

घोषणा गरिएको अक्षय कोष स्थापनाका लागि रकम संकलन अभियान सुरु गर्ने सञ्चारले जानकारी दिएको छ । सञ्चारले उक्त अभियानमा सहयोग गर्नका लागि सबैलाइ अपिल समेत गरेको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि सञ्चारका संरक्षक चन्द्रबहादुर लामिछानेले म्याग्दीमा साहित्यिको विकासका लागि सञ्चारले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । त्यस्तै कार्यक्रममा साहित्यकार धु्रवलाल शर्मा, अजय मिलन श्रेष्ठ र शिव सस्मीतले सञ्चारले म्याग्दीको साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै म्याग्दी साहित्यिक छाता संगठनको आवश्यकता रहेको बताए ।

साधारणसभाले संस्थाका उपाध्यक्ष सन्दीप खत्रीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष हिरा शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । संस्थाका अध्यक्ष लोकनाथ भुषालको अध्यक्षता, कोषाध्यक्ष हिरा शर्माको सञ्चालन र सदस्य शंकर चोखालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी साहित्यकार तथा सर्जकहरुले रचना बाचन समेत गरेका थिए । सञ्चारले बुलबुलको नाम साहित्यिक पत्रिका, जिल्लामा विभिन्न प्रकारका साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ ।