सुनसरीमा दोहोरो झडप, दुई दर्जनभन्दा बढी घाइते

  • २१ फाल्गुन २०७३, शनिबार
  • 2443 पटक पढिएको

jhadap

इटहरी, २१ फागुन । सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको नरसिंह–४ मा रहेको सुनसरीखोला किनारमा रहेको ऐलानी जमिनमा स्मशानघाट प्रयोग गर्ने विषयमा बढेको विवाद दोहोरो झडपमा परिणत हुँदा दुई दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

घटनास्थलमा अरु सम्भावित अप्रिय घटना हुन नदिनका लागि सशस्त्र र जनपद प्रहरीको ठूलो संख्याका सुरक्षाकर्मी परिचालित भएका छन् ।

गम्भीर घाइतेमध्ये एक दर्जनलाई विराटनगरस्थित न्यूरो अस्पताल पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ ।

अन्य केही घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र केहीको जिल्ला अस्पताल इनरुवा र आसपासका स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।

स्मशानघाट प्रयोग गर्ने विषयमा शनिबार बिहान ९ बजेतिर स्थानीय चियापसलमा कुराकानी एवं संवाद चलिरहेकाबेला एक्कासि ढुंगा प्रहार भएपछि स्थानीय दुईपक्षबीच घमासान दोहोरो झडप उत्पन्न भएपछि तत्कालै सुरक्षाका लागि त्यहाँ पुगेको सशस्त्र र जनपथ प्रहरीको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको घटनास्थलमा रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक दलबहादुर श्रेष्ठले जानकारी दिए ।

दुईपक्षीय झडपमा ठूलो संख्यामा स्थानीय रहेको तथा ठूलो संख्यामा सुरक्षाकर्मी नपुगेको भए सो स्थानमा निकै ठूलो मानवीय नोक्सानी हुने अवस्था रहेको पनि उनले जानकारी दिए ।

स्मशानघाटको विषयमा उत्पन्न समस्यालाई समाधान निकाल्नका लागि दुवै पक्षलाई बार्ताका लागि आहवान गरिसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

सोही विषयमा जानकारी दिनुहुँदै नेपाल प्रहरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले घटनालाई शसस्त्र र जनपथ प्रहरीले नियन्त्रणमा लिइ गाउँमा शान्ति–सुरक्षा कायम गरिसकिएको बताए ।

घटना भएपछि इनरुवा अस्पतालमा उपचारार्थ रहेका घाइते स्थानीयहरुलाई धैर्यता अपनाउन आग्रह गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सिताराम मेहताले कुनैपनि हालतमा स्मशानघाटको विषयलाई जातीय वा धार्मिक मुद्दा नबनाउन सबै घाइतेहरुसमक्ष आग्रह गरेका छन् ।

घटनापछि विभिन्न राजनीतिक दलका नेताहरुसमेत घटनास्थल र अस्पतालमा पुगी घाइतेको अवस्था जानकारी लिनेकार्य भइरहेको तथा उनीहरुले घटनालाई केवल जमिन प्रयोगको विवाद रहेको विषयमा केन्द्रित राख्न आग्रह गरिएको छ ।

सो घटनामा नरसिंह–४ का ३० वर्षीय बेचन यादव, १६ वर्षीय दिपेश यादव, ३० वर्षीय सञ्जय यादव, २२ वर्षीय धीरेन यादव, रीतु यादव, १७ वर्षीय याकुव अन्सारी, ६३ वर्षीय भोला मियाँ, ३९ वर्षीय इस्लाम मियाँ, ५० वर्षीय रोजित खातुन, ३८ वर्षीय जाहारुन खातुनलगायत घाइते भएका छन् । रासस