अन्नपूर्ण गाउँपालिकामा अपांगता परिचयपत्र वितरण शिविर

  • २१ पुष २०७४, शुक्रबार
  • 2401 पटक पढिएको

म्याग्दी २१ पुष । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि पोखरेबगरमा दुईदिने अपाँगता परिचपत्र शिविर सुरु भएको छ । गाउँपालिका भित्र अपाँगता परिचयपत्र नपाएर सरकारी सेवासुविधाबाट बञ्चित भएकाहरुका लागि महिला तथा बालबालिका कार्यालय बेनी र जिल्ला जनस्वास्थ्य कार्यालयसँग सहकार्य गरेर शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाका प्रमुख क्या.डमबहादुर पुनले वडा ७ का विमल पुर्जालाई परिचयपत्र हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेको थिए । सोही अवसरमा क्या.पुनले सदरमुकाम बेनी जानुपर्ने बाध्यतालाई मध्यनजर गरि गाउँपालिकाको केन्द्रमै यस्तो शिविर सञ्चालन गरिएको बताए । ‘जतिपनि अपाँगता भएका व्यक्तिहरुले परिचयपत्र पाउनुहुन्छ, उहाँहरुलाई बर्ग अनुसार सरकारले पनि सहयोग गर्दै आएको छ’, उनले भने, ‘क र ख बर्ग बाहेकका अपाँगता भएका व्यक्तिलाई उनीहरुको अवस्था हेरेर आर्थिक सहयोगको योजना पनि बनाएका छौँ ।’

गाउँपालिका अन्र्तगत दोबा, भुरुङतातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चे क्षेत्रबाट परिचयपत्र बनाउन भीड लागेको थियो । शिविरको पहिलो दिन ४२ जनालाई परिचय पत्र वितरण गरिएको छ । ‘क’ बर्गको ४, ‘ख’ १६, ‘ग’ बर्गको १४ र ‘घ’ बर्गको ८ वटा परिचयपत्र वितरण गरिएको महिला तथा बालबालिका विकास कार्यालयका महिला निरिक्षक लक्ष्मी केसीले जानकारी दिइन् ।

गाउँपालिका प्रमुख पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालयका सोमनाथ उपाध्यायले गाउँमै परिचयपत्र वितरणले सर्वसाधारणलाई धेरै सघाउ पुग्ने बताए । गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालको स्वागत र सुब्बा कुलप्रसाद आचार्यको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो । तस्बिरः राकेश शर्मा